पुनर्वासको पर्खाइमा नुवाकोटको नेवारपानी

इनेप्लिज २०७२ जेठ ९ गते १४:१५ मा प्रकाशित

rahat-nuwakotभद्रुटार(नुवाकोट),९ जेठ । गत वैशाख १२ गतेको भूकम्प र त्यसपछिका निरन्तर कम्पनकले यहाँको नेवारपानी बस्ती माटोमा मिलेर उजाड भयो । बीस घरका परिवारमध्ये चार जनाको जीवन पनि समाप्त भयो ।

लैनाभैसी, बलिष्ठ गोरु र बाख्रापाठा गोठसँगै माटोमा मिसिए । भासिएको जमिन र ठाउँठाउँमा गएको पहिरोले बाँचेकाहरूको मन छिया¬छिया पारेको छ–प्रकृतिको विनाश लीलाले । चारैतिरको वीभत्स र हृदयविदारक दृश्यले जोकोहीको मुटु भक्कानिन्छ । नेवारपानीका बासिन्दाको पीडा वर्णन गरी साध्य छैन ।

जिल्लाको पूर्वी भागमा अवस्थित भद्रुटार–३ नेवारपानीका बासिन्दा साना झट्का महसुस गर्दा पनि तर्सिन्छन् फेरि अझ महाविपत्तिले आफूलाई गाँज्ला भन्ने चिन्ताले । नजिकिदो वर्षायामले उनीहरूलाई झनै भयभीत पारेको छ । ओत लाग्ने छानो छैन । अन्नको अभाव पनि उस्तै छ ।

भूस्खलनको जोखिममा रहेको यो बस्ती तत्काल स्थानान्तरण नगरे यहाँ फेरि अर्को विनाश हुने निश्चित प्रायः छ । दिनरात त्रासमा बस्नुभन्दा सुरक्षित स्थानमा सर्न यहाँका सर्वसाधारण तयार छन् तर उनीहरू आफै त्यस्तो स्थान पहिल्याउन र सर्न असमर्थ छन् । राज्यको उपस्थिति खोजेका छन्– सहायता समाग्री होइन, सुरक्षित पुनर्वास ।

भूकम्पको एकै झड्कामा घर ढल्यो, वरिपरिको सबै जमिन चिराचिरा भयो अब यहाँ कसरी बस्नु ? भयमिश्रत श्वरमा गहभरि आसँु पार्दै बिलौना गर्नुहुन्छ स्थानीय टङ्कबहादुर खतिवडा । उहाँमात्र होइन गाउँका सबैको यस्तै पीडा र वेदना छ र लक्ष्य एउटै छ¬– पहिरो नजाने समथर स्थानमा बास सार्ने ।
गाईभैसीलाई पानी खुवाउन खनिएका पोखरी जमिन सुकेका छन् । बचेका वस्तुभाउका लागि पानी नै नहुँदा अनि शिर लुकाउने छानो नभएको अवस्थामा त्यहाँ बस्नै नसकिने दुःखेसो गर्नुहुन्छ भगवती खतिवडा ।

भूकम्पपीडित खतिवडाको घर नजिकैकी ५५ वर्षीया माइली तामाङले पति गुमाउनुभयो । पशुधन पनि सखाप भयो । एकपछि अर्को गर्दै थपिएको विपत्तिले उहाँलाई किंकर्तव्यविमूढ पारेको छ । आफूहरूलाई सुरक्षित स्थानमा बासको व्यवस्था गरिदिन सरकारसँग उहाँको आग्रह छ ।
भूकम्पछि निरीक्षणमा आएको सरकारी टोलीले उक्त स्थानमा बस्न नहुने सुझाव दिएको सुनाउँदै ६९ वर्षीय देवप्रसाद दाहाल महाविपत्तिको यो घडीमा सुरक्षित स्थानमा आवासको प्रबन्ध सरकारीस्तरमा होस् भन्ने आफूहरूको एकमात्र माग रहेको बताउनुहुन्छ । श्रीमति र नातिनी गुमाएका उहाँलाई सुरक्षित बासकै चिन्ता छ । आफ्ना सबै घर पूर्ण रुपमा क्षति भएका यहाँका सबैको एउटै माग छ —बस्ती स्थानान्तरण गर्ने कार्यक्रम बनाउँदा राज्यले नेवारपानीलाई नबिर्सियोस् ।

प्रतिक्रिया