काठमाडौँ, ९ जेठ । नेपाली सेनाले भूकम्पबाट अति प्रभावित १४ वटा जिल्लाको विभिन्न गाविसमा राहत वितरण र पुनःनिर्माणका काममा सघाउने कार्यलाई जारी राखेको छ ।
यसैक्रममा आज बिहानसम्म नेपाली सेनाले धादिङ जिल्लाका विभिन्न स्थानमा रहेका १२४ वटा घर, नुवाकोट जिल्लाका २७०, रसुवाका छ, मकवानपुरका १७, रामेछापका ६९, सिन्धुलीका १९३, गोरखाका ८१, सिन्धुपाल्चोकका १३६, काभ्रेपलाञ्चोकका ५१९ र ओखलढुङ्गाका नौ वटा क्षतिग्रस्त भवन भत्काउने कार्य गरेको छ ।
त्यसैगरी, काठमाडौँ जिल्लाका विभिन्न स्थानमा जोखिममा रहेका कच्ची घर १२ र पक्की घर ५९ गरी जम्मा ७१ वटा घर भत्काइएको छ । सेनाले भक्तपुर जिल्लाका विभिन्न स्थानमा जोखिममा रहेका कच्ची घर १३१ र पक्की घर ३१ गरी जम्मा १६२ वटा तथा ललितपुर जिल्लाका विभिन्न स्थानमा जोखिममा रहेका कच्ची घर ९४ र पक्की घर १७ गरी जम्मा ९६ वटा घर पूर्ण रुपमा भत्काउने कार्य सम्पन्न गरेको छ ।
त्यस्तै, भूकम्पबाट अति प्रभावित १४ जिल्लाका विभिन्न स्थानमा नेपाली सेनाका फौज परिचालित भई सर्वसाधारण जनताका घरटहरा निर्माण कार्यमा समेत एकजुट भई लागिपरेको छ ।
सोही क्रममा आजसम्म धादिङमा ४३, नुवाकोटमा ३२३, रसुवामा एक, मकवानपुरमा २९, दोलखामा १३७, रामेछापमा ५२, सिन्धुलीमा ५८, गोरखामा ३७, सिन्धुपाल्चोकमा २७९, काभ्रेपलाञ्चोकमा २६७, ओखलढुङ्गामा ६८, काठमाडौँमा ४४६ र ललितपुरमा छ वटा गरी जम्मा एक हजार ७४६ वटा घरटहरा निर्माण गर्ने कार्यमा सेनाले सहयोग गरिसकेको छ ।
प्रतिक्रिया