यार्सा टिप्न भिड

इनेप्लिज २०७२ जेठ ९ गते १०:३३ मा प्रकाशित

yarsa_1369373718म्याग्दी, ९ जेठ । यार्सा टिप्ने मौसम सुरु भएसँगै उपल्लो भेगका सर्वसाधारण धमाधम यार्सा सङ्कलनमा व्यस्त बनेका छन् ।

गुर्जा, मुदी, लुलाङ, मल्कबाङ, कुइनेमङ्गले, चिमखोला, दानालगायत गाविसका सर्वसाधारणको हिमालको फेदीमा यार्सा सङ्कलन गर्नका लागि भिड लाग्न थालेको छ । यस क्षेत्रका अधिकांश युवा यति बेला यार्सा सङ्कलनका लागि हिमालको फेदीमा पुगेका छन् ।

वैशाखदेखि नै यार्सा सङ्कलन गर्न सुरु भए पनि विशेष गरी जेठ महिनाको सुरुआतसँगै यार्सा पाइने बुकीमा सङ्कलनकर्ताको भिड लाग्न थालेको चिमखोलाका बासिन्दा धु्रवकुमार पाइजाले जानकारी दिनुभयो ।

यार्सा टिप्न जाने बुकीमा पर्ने देउरालीमा देवीदेवताको पूजापाठ गरी स्थानीयवासीले यार्सा सङ्कलन गर्ने गर्छन् । बुकीमा पुगेकाले कम्तीमा एक महिनासम्म त्यहाँ यार्सा सङ्कलन गरी फर्कने गरेको वुद्धि विकास मावि मुदीका शिक्षक लोकराज रोकाले बताउनुभयो । बालबालिका र वृद्धवृद्धाबाहेक मुदीका अन्य सबै यार्सा सङ्कलनमा गएको उहाँको भनाइ छ ।

औषधिलगायत अन्य प्रयोजनका लागि अन्तर्राष्ट्रिय बजारमा यार्साको माग बढेसँगै हिमाली भेगमा सङ्कलनका लागि सर्वसाधारणमा होडबाजी चल्ने गरेको छ । यार्सा मौसम रोजगारीको माध्यम बने पनि निकै कठिन र जोखिमयुक्त हुने रिखार बुकीमा यार्सा सङ्कलन गरिरहनुभएका कुइँनेमङ्गलेका चन्द्र गर्बुजाले जानकारी दिनुभयो । “बुकीमा आएको एक महिना हुन लागिसक्यो, भारी वर्षा र हिमपातका कारण सोचेजस्तो तवरले यार्सा सङ्कलन गर्न सकिएको छैन” गर्बुजाले भन्नुभयो । हिउँ नपग्लिएका कारण दैनिक १५ वटा सम्म मात्रै यार्सा भेटिने गरेको सङ्कलनकर्ता बताउँछन् ।

जिल्ला वन कार्यालयका अनुसार गत वर्ष जिल्लाबाट २४ किलो यार्सा निकासी भएको थियो । यार्सा सङ्कलनका लागि प्रतिकिलो रु १० हजार राजस्व तिरेर व्यवसायीले इजाजत लिने र सङ्कलनकर्ताबाट खरिद गरी निकासी गर्दै आएका छन् ।

प्रतिक्रिया