जमिनको उर्वराशक्ति बढाउन भकारो सुधार

इनेप्लिज २०७२ जेठ ७ गते २:४० मा प्रकाशित

480X320_df0b44448e7d7dda0f006d5f587b598eबाबियाचौर (म्याग्दी), ७ जेठ । गुणस्तरीय कम्पोस्ट मल उत्पादन गरी जमिनको उर्वराशक्ति बढाउने उद्देश्यले म्याग्दीको ताकम गाविसका कृषकले परम्परागत भकारोलाई सुधार गर्न थालेका छन् ।

खुला ठाउँको मलखादबाट नाइट्रोजन नष्ट हुने तथा मुत्र खेर जाने गरेको अवस्थामा गुणस्तरीय मल उत्पादन गरी जमिनको उर्वराशक्ति बढाउन भकारो सुधार कार्यक्रम फलदायी भएको कृषकले बताएका छन् ।

पशुको बसाइँ व्यवस्थापन गरी गुणस्तरीय कम्पोस्ट मलमार्फत कृषिउपजको उत्पादन बढाउने उद्देश्यले भकारो सुधार गरिएको ताकम– ३ का कृषक गोविन्द पौडेलले बताउनुभयो ।

कृषक पौडेलका अनुसार भकारोको टङ्कीमा सङ्कलन गरिएको गाईबस्तुको मुत्रलाई तरकारी र अन्नबालीमा लाग्ने रोगकिरा नियन्त्रणका लागि उपयोग गर्न सकिने छ ।

भुइँलाई ढलान पलास्टर गर्नुका साथै मुत्र सङ्कलन गर्ने टङ्की निर्माण गरेर सुधार गरिएको भकारोबाट सङ्कलन गरिने मलखादमा खेर जाने नाइट्रोजनको मात्रा घटाउन छाप्रोसमेत बनाएका छन् ।

यस वर्ष ताकम गाविसभर ११४ वटा भकारो सुधार भएको कृषि सेवा केन्द्र ताकमका प्रमुख योगेन्द्र राईले बताउनुभयो ।

जिल्ला कृषि विकास कार्यालयले ताकमका १०० जना कृषकलाई भकारो सुधार गर्न रु पाँच हजार २०० अनुदान दिने कार्यक्रम बनाएको थियो । कृषकको आकर्षण अत्यधिक भएकाले अनुदान कोटा थप गर्न पहल गरेको राईले बताउनुभयो ।

भकारोमा छाप्रो बनाउन ताकम गाविस कार्यालयले गाविसस्तरीय कृषि सञ्जालमार्फत प्रतिकृषक रु ५०० का दरले थप सहयोग गरेको छ ।

गत वर्ष कृषि सञ्जाल ताकमको सहयोगमा २५ वटा भकारो सुधार भएको थियो । गाविसभरनै भकारो सुधार अभियान सञ्चालन भएको ताकमको ३ नम्बर वडामा सबैभन्दा बढी ५७ वटा भकारो सुधार भइसकेको छ ।

तीन वटासम्म गाईबस्तु पाल्न सकिने भकारो सुधार गर्न रु आठ हजारदेखि १० हजारसम्म लगानी भएको कृषकले बताएका छन् ।

प्रतिक्रिया