म्याग्दीमा ६५ हेक्टर अतिक्रमित वन समुदायलाई फिर्ता

इनेप्लिज २०७२ जेठ ७ गते २:३५ मा प्रकाशित

Myagdi_district_locationबेनी (म्याग्दी), ७ जेठ । म्याग्दीमा स्थानीय बासिन्दाले अतिक्रमण गरेको ६० हेक्टरभन्दा बढी वन क्षेत्र सामुदायिक वनलाई नै फिर्ता गरेका छन् ।

म्याग्दीको बाबियाचौर इलाका वन कार्यालयका निमित्त सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले स्थानीय समुदायमा आधारित वन अतिक्रमण नियन्त्रण अभियान सञ्चालन गरेपछि बाबियाचौर रेन्जपोस्टअन्तर्गतका पाँचवटा सामुदायिक वन क्षेत्रबाट अतिक्रमण गरिएको ६० हेक्टरभन्दा बढी जग्गा वन उपभोक्ता समूहलाई फिर्ता गरिएको हो ।

बाबियाचौर इलाका वन कार्यालयअन्तर्गतका भदौरे पाखो सामुदायिक वन उपभोक्ता समूह कुहुको १० हेक्टर, खुम्ल्याहा माइकोथान सामुदायिक वन उपभोक्ता समूह बाबियाचौरको १२ हेक्टर, दोविल्ला वगर सामुदायिक वन उपभोक्ता समूह अर्मनको १० हेक्टर, सल्यान सल्लेरी सामुदायिक वन उपभोक्ता समूह बाबियाचौर ६ को ११ हेक्टर, रानीभिर ठाडोपाखा सामुदायिक वन उपभोक्ता समूह बाबियाचौर ८ र ९ बाट १० हेक्टर र जिल्लाका अन्य ठाउँबाट १३ हेक्टर गरी ६५ हेक्टर अतिक्रमण गरेको वन क्षेत्र समुदायलाई फिर्ता गराएको बाबियाचौर इलाका सहायक वन अधिकृत सापकोटाले जानकारी दिनुभयो ।

विसं २०७० साउनदेखि सुरु गरेको स्थानीय समुदायमा आधारित वन अतिक्रमण नियन्त्रण अभियानमा गाविसस्तरीय भेला बोलाइ सामुदायिक वन उपभोक्ता समूहका बारेमा जानकारी दिने, हरेक सामुदायिक वनमा छुट्टाछुट्टै आमभेला गरी अतिक्रमण भएको वन क्षेत्रको जानकारी लिने, समूह र अतिक्रमण गर्ने व्यक्तिलाई वन कार्यालयका प्रतिनिधिले सहजीकरणकारी अतिक्रमण गरेको वन क्षेत्र फिर्ता गराउन पहल गरेपछि अतिक्रमण गरेका व्यक्तिले जग्गा समुदायलाई फिर्ता गरेका हुन् ।

बाबियाचौरका निमित्त सहायक वन अधिकृत सापकोटा र वन उपभोक्ता समूहका सदस्यको पहलमा अतिक्रमण गरिएको वन क्षेत्र समुदायमा फिर्ता हुनेक्रम बढेपछि जिल्लाका अन्य इलाका वन कार्यालय वा रेञ्जपोस्टले पनि सो अभियान सञ्चालन गर्नुपर्ने स्थानीयको माग रहेको छ ।

बाबियाचौर रेञ्जपोस्ट क्षेत्रमा अतिक्रमण गरेको वन समुदायलाई स्वच्छिक रुपमा फिर्ता गरिँदै छ भने अन्य रेञ्जपोस्टअन्तर्गतका वन क्षेत्रमा अतिक्रमण गर्ने क्रम पनि बढेको छ ।

सदरमुकाम नजिकै रहेको बेनी नगरपालिका–४ गरफाँटमा पनि कैयौँ व्यक्तिले सामुदायिक वन अतिक्रमण गरेर निजी उपभोग गरिरहेको भए तापनि यसतर्फ जिल्ला वन कार्यालय र सम्बन्धित रेञ्जपोस्टको ध्यान जान सकेको छैन ।

मङ्गलाघाट रेञ्जपोस्टअन्तर्गत पर्ने ज्यामरुककोटलगायतका वन क्षेत्रमा अतिक्रमण गरिएको सामुदायिक वनक्षेत्रलाई फिर्ता गराउन आजदेखि नै पहल सुरु गरिने मङ्गलाघाट रेञ्जपोस्टका रेञ्जर राजकुमार ठाकुरले बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता समूहले अतिक्रमित वन क्षेत्रका बारेमा जानकारी दिन आनाकानी गरेमा वन क्षेत्रको नक्सा र प्रमाणपुर्जाको आधारमा अतिक्रमण गरिएको वन क्षेत्र पत्ता लगाइने र समुदायमा फिर्ता गराइने छ ।

प्रतिक्रिया