एकसय वर्ष पुरानो भक्तपुर अस्पताल टेन्टमा सञ्चालन

इनेप्लिज २०७२ जेठ ६ गते १०:२६ मा प्रकाशित

Rss_Images_1432105756385_RG-BKT- Tand Ma BKT Hospital Photo-6भक्तपुर, ६ जेठ । जिल्लाको सरकारी अस्पतालका रुपमा रहेको सय वर्ष पुरानो भक्तपुर अस्पतालको भवनमा गत वैशाख १२ गतेको भूकम्प र २९ गतेको पराकम्पनका कारण बस्नै नहुने भएपछि टेन्टमा सेवा सञ्चालन गरेको छ ।

अस्पतालको चौरमा टेन्ट हालेर सेवा सञ्चालन गरेपछि शल्यक्रियादेखि सुत्केरी गराउनेसमेत टेन्टमै हुन थालेको हो । सय वर्ष पुरानो अस्पतालको २०३१ सालमा बनेको ५० वर्षे पुरानो भवन भूकम्पको धक्काले बस्नै नहुने गरी क्षति पुगेपछि अस्पतालले गत वैशाख २९ गतेदखि चौरमा ६ वटा टेन्ट हालेर सेवा सञ्चालन गरेको अस्पतालका प्रशासन प्रमुख कृष्णहरि गेलालले जानकारी दिनुभयो ।

भूकम्पले चर्काएको भवनमै सेवा दिइरहे पनि वैशाख २९ गतेको पराकम्पनले भवनमा थप क्षति भएपछि अस्पतालले चौरमै टेन्ट हालेर सेवा दिएको उहाँले बताउनुभयो ।

प्रशासन प्रमुख गेलालले भन्नुभयो—“अस्पतालको पुरानै भवनमा अपरेशन थिएटर, संस्थागत क्लिनिक, स्टोर, ओपिडी, ल्याब, एक्स–रे तथा मेडिकल वार्ड भूकम्पले बस्नै नहुने भएको छ, त्यसैले अस्पतालको सेवा वैशाख २९ गतेदेखि नै टेन्टमा सञ्चालन गरेका छौँ ।”

अस्पतालको नयाँ भवनमा प्रशासन, प्रसूति वार्ड, सर्जिकल वार्ड सञ्चालन गरे पनि कतिपय बिरामी भूकम्पको डरले अस्पतालभित्र छिर्नै नमानेपछि चौरमै सेवा दिन थालेको अस्पतालका ओटी इन्चार्ज हरि कोजूले बताउनुभयो ।

प्रसूति वार्ड र सर्जिकल वार्ड नयाँ भवन मै भएपनि बिरामी अस्पतालभित्र जान नमानेपछि चौरमै ल्याएर प्रसूति सेवा दिएको हो । कोजूले भन्नुभयो—“चौरमा राखेको टेन्टमै २० भन्दा बढी सुत्केरी भइसके, भर्ना लिने, सुत्केरी गराउने र डिस्चार्ज गर्ने काम सबै चौरबाटै हुन्छ ।”

अस्पतालले प्रसूति वार्ड, मेडिकल वार्ड, ओटी, ओपिडी, संस्थागत क्लिनिकसमेत चौरमा राखिएको टेन्टबाटै सञ्चालन गर्दै आइरहेको छ । अस्पतालको आकस्मिक भवन भने भूकम्पले क्षति नभएपछि भवनमै सञ्चालन भएको छ । अस्पतालले ओटीलाई अस्पतालको प्रशासन बसेको भवनमा सञ्चालन गर्ने तयारी गरेको छ ।

शल्यक्रिया टेन्टमै गर्दा सङ्क्रमण हुनसक्ने खतरा भएकाले प्रशासन भवनभित्र सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिँदै कोजूले केही दिन ओटी रोकिँदा अन्यत्र सार्नुपर्ने बाध्यतासमेत आएको बताउनुभयो ।

अस्पतालको चौरमा सर्पको बिगबिगी भएपछि भने समस्या आएको छ । चौरमा दैनिक सर्प देखिन थालेपछि स्थानीयवासीले कतिपय सर्प समातेर जङ्गलमा लगेर छाडिदिने गरे पनि सर्पको डर भने भइरहेको बिरामी बताउँछन् ।

प्रतिक्रिया