काठमाडौँ, ३ जेठ । केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेकाले आफूहरूको सुरक्षित आवासको व्यवस्था गर्न माग गरेका छन् ।
व्यवस्थापिका–संसदको राष्ट्रिय विपद अनुगमन तथा निर्देशन समितिका सदस्य गिरिराजमणि पोखरेलसँग कैदी बन्दीले कारागारमा बस्ने अवस्था नभएकाले आलोपालो गरी सुत्नु परेको भन्दै उचित व्यवस्था गर्न आग्रह गरेका छन् ।
गत वैशाख १२ गते गएको भूकम्पमा परी सो कारागारमा १७ जना बन्दीको निधन भएको थियो भने ८० जना घाइते भएका थिए । तीमध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ ।
बन्दीले पुनःनिर्माणमा आफूसँग रहेको दक्ष जनशक्ति परिचालन गर्न माग गरेका थिए ।
अनुगमनमा क्रममा केन्द्रीय कारागारमा रहेका कुनै पनि भवनमा बसोबासका लागि उपयुक्त नभएको, जुनसकै बेला गम्भीर दुर्घटना हुनसक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेका थिए ।
सो बन्दीगृहमा दुई हजार ४८४ जना बन्दी कैद भुक्तान गरिरहेका छन् । कारागारमा पर्याप्त त्रिपाल नभएकाले मनसुनका बेला झन् ठूलो समस्या पर्ने भन्दै समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।
कैदी बन्दीको गुनासो सुनेपछि एकीकृत नेकपा(माओवादी)का प्रमुख सचेतक समेत रहनुभएका पोखरेलले आजै राष्ट्रिय विपद् अनुगमन तथा निर्देशन समितिका संसदीय समितको बैठकमा उठाउने र समस्या समाधानका लागि विशेष पहल गर्ने बताउनुभएको थियो ।
सो अवसरमा कारागार व्यवस्थापन विभागका अधिकारीले कारागारको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।
प्रतिक्रिया