बनेपा, ३ जेठ । काभ्रेपलाञ्चोकमा भूकम्पपीडित भएका झण्डै २५ हजार पीडितले राहत सामग्री पाएका छन् ।
जिल्लाको पाँच नगरपालिका र ७६ गाविसमा रहेका भूकम्पपीडितले पर्याप्त मात्रामा राहत सामग्री पाउन नसकेको स्थानीय विकास अधिकारी चिरञ्जिवी तिम्सिनाले स्वीकार गर्नुभयो ।
“हामीसँग अझै पनि धेरै सङ्घसंस्था सम्पर्कमा छन्, उनीहरुमार्फत आएका राहत सामग्री दोहोरोपन नहुने गरी वितरण कार्य जारी राखेका छौँ” उहाँले भन्नुभयो ।
काभ्रेपलाञ्चोकमा त्रिपाल २० हजार ५०० थान, चामल आठ हजार ९५१ किलोग्राम, चिउरा दुई हजार ६२९ किलोग्राम, बिस्कुट पाँच हजार १४१ कार्टुन, चाउचाउ सात हजार ६८० कार्टुन, साबुन २०७ कार्टुन, ब्लाङ्केट छ हजार ८११ थान, पानी शुद्धीकरण गर्ने पियुस बोतल एक हजार ३१ वटा वितरण भएको जिविसले जनाएको छ ।
स्थानीय विकास अधिकारी तिम्सिनाले जिल्लामा अझै करिब ७० हजार त्रिपाल आवश्यक रहेको बताउनुभयो ।
उहाँले जिल्लामा भूकम्पका कारण मृत्यु भएका ३१८ जनामध्ये ३१५ जना मृतकका परिवारलाई रु ४० हजारका दरले आर्थिक सहयोग उपलब्ध गराइएको बताउनुभयो ।
जिविस काभ्रेको तथ्याङ्कअनुसार जिल्लामा चार हजार ९९३ घर पूर्णरुपमा क्षति भएको छ । सो घटनामा २३ हजार ७१४ घर आशिंकरुपमा क्षति भएको छ ।
प्रतिक्रिया