भूकम्पबाट झण्डै छ सयको मृत्यु

इनेप्लिज २०७२ जेठ २ गते १०:४७ मा प्रकाशित

Rasuwa_district_locationधुन्चे (रसुवा), २ जेठ । हालैको विनाशकारी भूकम्पका कारण रसुवा जिल्लामा ४७ दर्जनभन्दा बढी मानिसको मृत्यु भएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रवीण पोखरेलका अनुसार जिल्लाका १८ गाविसभित्र भूकम्पका कारण शुक्रबार बिहानसम्म ५६९ जनाको मृत्यु भइसकेको र भूकम्पपछि घाइते भएका ७५६ जनालाई उपचार सेवा दिन हेलिकप्टरद्वारा त्रिशूली तथा काठमाडौँका अस्पतालमा पठाइएको थियो ।

उपचारमा पठाइएका बिरामी सहजरुपले उपचार भइरहेको आफूलाई जानकारी प्राप्त भएको उहाँले बताउनुभयो ।

लाङटाङ गाउँ पूरै हिमपहिरोले पुरिएपछि ३३३ जनाको हाराहारीमा मानिस हराएको अनुमान छ । त्यसमध्ये १२४ जनाको शव नेपाली सेना र नेपाल प्रहरीको उद्धार टोलीले फेला पारेको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

पहिरोमा पर्नेमा १८३ स्थानीयवासी, २० मजदुर, ८० पर्यटक, ४० जना पथपदर्शक अनुमान रहेको स्थानीय निमा लामाले जानकारी दिनुभयो । लाङटाङ पहिरोमा नेपाली सेना नारायण दल गणको पोष्टसमेत पुरिँदा १० जना सेनाका अधिकृत तथा जमान हराइरहेको नेपाली सेनाले जनाएको छ ।

लाङटाङ गाउँ वडा नं ४, ५, ६, ७ चार वडा पर्ने र सो गाउँ पुरेपछि अब सिङ्गो गाविसको जनसङ्ख्या ४०० को हाराहारीमा मात्र बाँकी रहे पनि हिमशृङ्खलाका पर्वत दिनानुदिन खस्न थालेपछि सबैलाई उद्धार गरी काठमाडौँस्थित स्वयम्भू क्षेत्रको एलोगुम्बामा आश्रय लिन गएका छन् । अहिले लाङटाङ क्षेत्र मानवरहित बन्न पुगेको छ ।

भूकम्पपश्चात मैलुङ क्षेत्र पूरै तहसनहस भएको छ । पहिरो चलिरहेपछि उद्धारकर्मीबाहेक अरु जानसकेका छैनन् । प्रहरीका अनुसार मैलुङ इलाका क्षेत्रमा ३० जनाभन्दा बढीको शव फेला परेको छ ।

हाल उद्धारकर्मीलाई खोजकार्यमा कठिन भइरहेको छ । मैलुङ खोला पाँच मेगावाट जलविद्युत् आयोजनामा बन्द भएपछि परीक्षण गर्न जान नसकिएको प्राविधिकहरुले बताएका छन् ।

रसुवागढी क्षेत्रको पहिरो पन्छाउन नेपाली सेना, नेपाल प्रहरी र चिनियाँ उद्धारकर्मी जुटेका छन् । अहिलेसम्म चार जनाको शव फेला परेको प्रहरीले बताएको छ ।

हाकु–१ नेसिङ गाउँबाहेक अन्य सम्पूर्ण वडाका ४०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । हाकु क्षेत्रमा बस्ने अवस्था नरहेको हाकु गाविसले जनाएको छ । करिब १० हजार निजी घरमध्ये ९९ प्रतिशत भत्केको १०७ विद्यालय ३० भन्दा बढी सरकारी कार्यालय क्षति भएका छन् । जिल्ला प्रशासन जिल्ला प्रहरी अदालत जिविस प्राविधिक कार्यालयबाहेक अन्य घर तथा कार्यालय विद्यालयमा समेत बस्ने अवस्था नरहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

जिल्ला अस्पतालमा त्रिपाल राखेर उपचार सेवा सुचारु गरिएको छ नेपाल रेडक्रस अन्तर्राष्ट्रिय विभागको पहलमा विदेशी रेडक्रस संस्थाहरुले उपचारमा सहयोग गरिरहेको वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले जानकारी दिनुभयो ।

दाताबाट प्रधान भएको राहत सङ्कलन र वितरण कार्य तीव्र अगाडि बढिरहेको क्रमशः सबै घरलाई चामललगायत त्रिपाल पु¥याइसकिएको राहत सङ्कलन व्यवस्थापन र वितरण समितिले जनाएको छ ।

राहत वितरणमा सभासद्द्वय जनार्दन ढकाल र थोवाङ तेन्जिङ तामाङ रसुवा उद्योग वाणिज्य सङ्घ, रसुवा ट्रेक एन्ड एक्प्रिटिसन रेडक्रस सोसाइटी राजनीतिक दलका भातृ संस्था डोल्मा डेभलपमेन्ट फन्ट सु–आहारा कार्यक्रम डब्लुडब्लु एफ विश्व खाद्य कार्यक्रम डब्लुएफपी गुम्बा व्यवस्थापन समितिलगायत सामाजिक सङ्घसंस्था जुटिरहेका छन् । पछिल्ला दिनमा सडक सुचारु भएपछि मोटरबाटो राहत सामग्री ढुवानी गर्ने कार्य भइरहेको छ ।

खानेपानीको व्यवस्थापन, वातावरणको सन्तुलन गराउन र बालबालिकाको पोषणका लागि एककृत रुपमा सरकारी एवम् गैरसरकारी क्षेत्रले वितरण तथा व्यवस्थापनमा अभियान सुरु गरेका छन् । सु–आहाराले हाकुबाट विस्थापित भई बेत्रावती पुगेका गाउँलेका बालबालिकालाई पोषण सामग्री र अस्थायी शौचालय निर्माण गर्ने कार्य सम्पन्न भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

रसुवागढीलगायतका स्थानमा जडान भएको टेलिफोनका सबै उपकरण क्षति हुँदा उत्तरी भेगका आठ गाविसका बासिन्दा फोन सेवाबाट बञ्चित भएका छन् । पशुधनतर्फ ठूला र साना गरी दुई हजारको हाराहारीमा पशु मरेको र यथार्थ विवरण सङ्कलन गर्ने कार्य भइहरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

पटक–पटकको भूकम्प धक्का र २९ गते थप ठूलो धक्का आएपछि आम नागरिकमाझ बढी त्रास भएको हुँदा यथेष्ट राहत र पुनर्वासको व्यवस्था छिटो गरिदिन सरकारसामु आग्रह गर्दै नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले मनसुन अगावै भौगोलिक अवस्था जाँच गराइदिनसमेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया