दोलखामा भूकम्पबाट एकासीको मृत्यु

इनेप्लिज २०७२ वैशाख ३१ गते १४:२५ मा प्रकाशित

Dolkha_district_locationचरिकोट (दोलखा), ३१ वैशाख । दोलखामा मङ्गलबार गएको भूकम्पबाट एकासी जनाको मृत्यु भएको छ ।

सदरमुकाम चरिकोटको चरिघ्याङस्थित होटल प्याराडाइजमा पुरिएका चारको शव आज निकालिएको छ । उक्त होटलबाट रुकु थापा, रुपा तामाङ, सिर्जना थापा र एञ्जिला पौडेलको शव नेपाली सेनाले निकालेको हो ।

यस्तै चङ्खु गाविसमा घरमा पुरिएका ५० वर्षीय विर्खबहादुर थामी, १८ वर्षिय छिम्बा थामी, सोही उमेरका भगवती थामी र २६ वर्षीय मनविर थामीको शव सेनाको टोलीले आज निकालेको बर्दबहादुर गणका सेनानी राजन दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार घरमा पुरिएका ओराङ–७ का ३२ वर्षिय भीम तामाङको शव पनि निकालिएको छ ।

यसैगरी सिँगटी बजारमा पहिरोमा परी बसमै पुरिएका लादुक–८ का ७३ वर्षीय कमलप्रसाद ओली, लादुक–३ का मिङ्मा तामाङ, लामिडाँडा–४ का ५१ वर्षीय नरबहादुर अधिकारी, चिलङ्खा–८ का १८ वर्षीया देखा खड्का, सोही वडाका १४ वर्षीय प्रदीप विक र ४० वर्षीय शङ्कर विकको शव सेनाको टोलीले उत्खनन् गरी निकालेको छ । उनीहरु राहत सामग्री लैजान बस चढेर सदरमुकाम आउँदै गरेको अवस्थामा पहिरोमा परेका थिए ।

सेनानी दाहालले दिएको जानकारी अनुसार खोपाचाँगु गाविसकी ८० वर्षीया धनमाया थामी, चङ्खु–४ का २७ वर्षीया याङ्डोमा शेर्पा, लादुक–८ का प्रकाश ओली, चिलङ्खा–९ का सुुरज भुजेल र चिलङ्खा–८ का १४ वर्षिय शेखर खड्का र सोही वडाका १५ वर्षीया सर्मिला विकको शव घरमा पुरिएको अवस्थामा भेट्टिएको छ ।

अमेरिकी हेलिकप्टरको खोजी जारी
यसैबीच, मङ्गलबारदेखि हराइरहेको अमेरिकी सेनाको हेलिकप्टरको खोजी गर्न आज पनि दिनभर नेपाली सेनाले प्रयास गरे पनि कुनै पत्तो लाग्न सकेको छैन ।

हेलिकप्टरको खोजीमा तामाकोशी नदी वरपर दुई सयभन्दा बढी सैनिक परिचालित गरिएको सेनानी दाहालले जानकारी दिनुभयो । जिल्लामा हेलिकप्टर खोजी गर्न तथा उद्धार र राहत वितरणका लागि एक हजार ७२ सैनिक परिचालित गरिएको उहाँले बताउनुभयो ।

“म भर्खर तामाकोसी नदी वरपरको क्षेत्रबाट फर्किए, हेलिकप्टरको कुनै पत्तो लागेन ।” उहाँले भन्नुभयो ।

प्रतिक्रिया