माटो जाँच गराएर मात्र भवन निर्माण गरौँ: विज्ञ

इनेप्लिज २०७२ वैशाख ३१ गते १४:१८ मा प्रकाशित

Pillarकाठमाडौँ, ३१ वैशाख । नयाँ भवन बनाउने सोँच छ भने त्यस स्थानको माटो जाँच गराएर मात्र भवन निर्माण गर्नुहोस् ।

विपद् जोखिम न्यूनीकरणका लागि राष्ट्रिय अभियानले आज यहाँ आयोजना गरेको ‘भूकम्पपछिको नेपाल कस्तो ?’ विषयक कार्यक्रममा सम्बन्धित क्षेत्रका विज्ञहरुले माटोको जाँच गरेर मात्रै भवन निर्माण गर्न सुझाव दिएका छन् ।

आगामी दिनमा भवन बनाउने व्यक्तिले भवन निर्माण गर्न लागेको स्थान र माटो कस्तो छ भनी जाँच गराए अब आउने भूकम्पको जोखिमबाट सुरक्षित रहन सकिने बताए ।

कार्यक्रममा भूगर्भविद् डा रञ्जन दाहालले भूकम्प जान्छ भन्न सकिने भएपनि त्यसको समय र मिति तोक्न नसकिने भएकाले आफूले बनाएको घर आफ्नै लागि जोखिमयुक्त नबनोस् भन्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भूकम्पको महसुस सबैमा भए पनि भवन बनाउँदा कस्तो माटो भवनको अनुकुल छ भन्ने चेतना मानिसमा नभएकाले माटो र स्थानको बारेमा पनि चेतनामुलक अभियान ल्याउनु जरुरी रहेको बताउनुभयो ।

प्राडा प्रेमनाथ मास्केले नेपालमा भूकम्प प्रतिरोधी भवन तथा कस्ता स्थानमा भवन बनाउँदा जोखिम कम हुन्छ भन्नेतर्फ अनुगमन र जानकारी नहुँदा भूकम्पले धेरै क्षति गराएको उल्लेख गर्नुभयो ।

उहाँले मनसुनको समयमा पहाडी क्षेत्रको खोल्सा परेको ठाउँमा झनै पहिरोको जोखिम हुने भएकाले यस्तो क्षेत्रका मानिसको सुरक्षामा राज्य र सबै राजनीतिक दलका नेता सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय अभियानका अध्यक्ष गङ्गालाल तुलाधरले आगामी दिनमा भवन बनाउँदा मापदण्ड अनुरुपको भवन बनाउनुपर्नेमा जोड दिँदै भूकम्पपीडितसम्म राहत पुगेको छ छैन सभासदले यस विषयमा अनुगमन थाल्नुपर्ने बताउनुभयो ।

नेपाल राष्ट्र बैङ्कका पुर्वगर्भनर डा युवराज खतिवडाले भूकम्पबाट क्षति भएका संरचनाको पुनःनिर्माणका लागि १० खर्ब रुपैयाँ बजेट अनुमान गरिएको बताउँदै स्वदेशी र वैदेशिक सहयोगबाट उक्त रकम सङ्कलन गरी पुनः निर्माणको काम थालिहाल्नुपर्ने धारणा राख्नु भयो ।

प्रतिक्रिया