भूकम्पका कारण विद्युत् सेवा अवरुद्ध

इनेप्लिज २०७२ वैशाख ३१ गते १०:२५ मा प्रकाशित

no-lightजाजरकोट, ३१ वैशाख । यहाँको दुर्गम भेगमा भूकम्पका कारण विद्युत् सेवा अवरुद्ध भएको छ ।

लहँ गाविस–८ मा रहेको लहरे खोला लघु जलविद्युत् आयोजनाको नहर भूकम्पले भत्काएपछि विद्युत् सेवा अवरुद्ध भएको हो । विद्युतको ३९ मिटर नहर पूर्णरुपमा ध्वस्त भएको स्थानीय उपभोक्ता खड्कबहादुर सिंहले जानकारी दिनुभयो ।

एक वर्ष अघि रु एक करोड २० लाखको लागतमा आयोजना निर्माण गरिएको थियो । विद्यूत् निर्माण भएको एक वर्ष नबित्दै भूकम्पका कारण नहर भत्किएपछि यहाँका ३०७ घर अन्धकारमय भएका छन् । निर्माण गर्दा लागेको ऋण तिर्न धौ–धौ भएको अवस्थामा फेरि नहरमा क्षति भएपछि विद्युत् सञ्चालन गर्न मुस्किल भएको अर्का स्थानीय उपभोक्ता गणेशप्रसाद सिंहले जानकारी दिनुभयो । चौबिस किलोवाट विद्युत् यहाँबाट उत्पादन हुँदै आएको थियो ।

यसैबीच मङ्गलबार गएको भूकम्पका कारण जाजरकोटमा तीनवटा विद्यालयमा क्षति पुगेको छ । भूकम्पका कारण खर्कदेवी मावि थालारैकर, सरस्वती प्रावि खगेनकोट र शिव व्यावसायीक मावि कालेगाउँको विद्यालय भवनमा क्षति पुगेको हो । यसैगरी खगेनकोट–३ गननभीरस्थित भवानीप्रसाद शर्मा तथा वडा नं ९ स्थित विष्णु पुनको घरमा समेत भूकम्पबाट क्षति पुगेको छ ।

प्रतिक्रिया