कम्बल हैन पाल देउ

इनेप्लिज २०७२ वैशाख ३१ गते ८:२९ मा प्रकाशित

eStk'/df e}Frfnf]n]] 3/x? eTsfP kl5 kfn d'gL a;]sf :yfgLo afcfdfx? Ps cfk;df s'/f ub}{ . tl:a/M k|bLk/fh jGt,/f;;जीवनपुर (धादिङ), ३१ वैशाख । भूकम्प प्रभावित क्षेत्र धादिङ जीवनपुरका बासिन्दाले कम्बलभन्दा पाल वा जस्तापाता चाहिएको बताएका छन् ।  यही वैशाख १२ गते आएको भूकम्पले घरवारविहीन भएका जनता आफ्नो जिउको सुरक्षा र वर्षात्बाट बच्न पालकै माग गरेका हुन् ।

जीवनपुर गाविस–८ निवासी कान्छी तामाङले भूकम्पले घर लगेपछि ओत लाग्नका लागि पालको सबैभन्दा ठूलो आवश्यक रहेको बताउनुभयो ।  उहाँ भन्नुहुन्छ, “विस्तारै बर्षायाम लाग्न थालेको छ परिवार ठूलो सङ्ख्यामा भएकाले कम्बलभन्दा पाल नै दिए बस्न पाइन्थ्यो पाल एकवटा मात्र हुँदा पानी चुहिएर हैरान भएको छ ।”

सोही गाउँकी निर्मला तामाङको पीडा पनि उस्तै छ । उहाँ भन्नुहुन्छ, “तत्काल कम्बलभन्दा राज्यले पाल दियोस् कम्बल त भत्किएको घरबाट पनि निकाल्न सकिन्छ ।  स्थानीय बच्चुराम ढकाल राहत बाँड्न आएका कैयौँ संस्थाले त्रिपाल थोरै ल्याउँदा सबै परिवारलाई नपुगेको भन्दै स्थानीयवासी राहत बाँड्न आउनेसँग पाल नै माग्न बाध्य भएको बताउनुभयो ।

वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा उक्त गाविसमा ५७ जनाको ज्यान गएको थियो भने १०३ जना घाइते भएका थिए ।  जीवनपुर गाविसमा रहेका दुई हजार २१५ घरमध्ये दुई हजार २०१ घर पूर्णरुपमा बस्न नहुने गरी ध्वस्त भएकाले यहाँका जनताले दुःख व्यहोर्न परेको सो गाविसकी सचिव विन्दाकुमारी खड्काले बताउनुभयो ।

उहाँले भूकम्प गएको दुई दिन पछाडि सदरमुकामबाट केही राहत सामग्री ल्याई पीडित परिवारलाई वितरण गरेको सचिव खड्काले बताउनुभयो ।  भूकम्प आएपछि सो गाविसमा राहत बाँड्न करिब दुई दर्जनभन्दा बढी सङ्घसंस्था पुगेपनि थोरै सामग्री लिएर उक्त ठाउँमा पुर्‍याएकाले सबै घरपरिवारलाई पु¥याउन गाह्रो परेको स्थानीय समाजसेवी विदुरप्रसाद अकौलिया बताउनुहुन्छ ।

भूकम्पबाट पीडित तथा गरिब परिवारको अवस्थाबारे बुझ्न तथा राहत वितरण गर्न पुग्नुभएका गरिब घरपरिवार तथा समन्वय बोर्डका उपाध्यक्ष चिन्तन पौडेल हरेक घरपरिवारलाई विपद्को बेला सहयोग गर्नु पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

उहाँले गरिबघरपरिवार तथा समन्वय बोर्डले गरिब र भूकम्पपीडित पहिचान कार्यक्रम ल्याउन लागेको भन्दै वास्तविक गरिब र भूकम्पपीडितले वडा र गाविसमा सही तथ्याङ्क दिन आग्रह गर्नुभयो ।

पौडेलको समन्वयनमा अखिल भारत माडवारी युवा मञ्चले ल्याएको सामग्री सो गाविसका बडहरे, ढकालखोला, डडुवा, फुरौले, बद्रीटार, बाह्रबिसे, सेढाइगाउँमा, कुमाइखोला, धाराचौर, आँपघारी, बेलडाँडा, छत्रेपाटी, भागेलगायतका एक हजारभन्दा बढी घरपरिवारमा वितरण गरिएको थियो ।

वितरण गरिएका सामग्रीमा त्रिपाल, कम्बल, च्युरा, अम्खरा, कचौरा, थाल, बिस्कुटलगायतका रहेका छन् ।  नेपालीको पीडामा केही कमी होस् भन्न आफूले विभिन्न ठाँउबाट सङ्कलन गरिएको राहत यहाँ ल्याएर वितरण गरिएको माडवारी युवा मञ्च बिहारका संयोजक दीपक अग्रवालले बताउनुभयो ।

माडवारी युवा मञ्चले यसअघि नुवाकोट, गोरखा, सिन्धुपाल्चोकलगायत जिल्लामा राहत वितरण गरिसकेको छ ।

प्रतिक्रिया