भूकम्पले म्याग्दीका पचासभन्दा बढी विद्यालयमा क्षति

इनेप्लिज २०७२ वैशाख ३१ गते २:०७ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), ३१ वैशाख । दुई हप्ताअघिको विनाशकारी भूकम्पले म्याग्दीका ५० वटाभन्दा बढी विद्यालयको भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।

जिल्ला शिक्षा कार्यालयको पछिल्लो तथ्याङ्कअनुसार ५१ वटा विद्यालयको कक्षा कोठा, प्रशासनिक भवन र छात्रावासमा क्षति भएको छ । पाँचवटा पूर्ण, १९ वटामा आंशिक र २६ वटा विद्यालयमा सामान्य क्षति पुगेको कार्यालयका शाखा अधिकृत दलबहादुर थापाले बताउनुभयो ।

अमर मावि पाखापानीको प्रशासन कक्ष र पुस्तकालय, मुसुङडोले निमावि भकिम्लीको दुईकोठे कक्षाकोठा, जनविकास मावि मराङको छात्रावास, विकास प्रावि बाबियाचौरको तीनकोठे कक्षाकोठा र हिमालय प्रावि भुरुङ तातोपानीअन्तर्गतको कटुञ्जे बालकक्षाको दुईकोठे भवनमा बस्नै नमिल्नेगरी क्षति भएको थापाले जानकारी दिनुभयो ।

ती विद्यालयको पठनपाठन प्रभावित भएको छ । तीनवटा विद्यालयमा भवन बाहिर बसेर पठनपाठन सञ्चालन गरिएको छ । सबै क्षतिको विवरण तयार गरेर शिक्षा विभागमा पठाइ मर्मत, पुनःनिर्माणका लागि पहल भइरहेको शाखा अधिकृत थापाले बताउनुभयो ।

प्रतिक्रिया