प्यूठान, ३१ वैशाख । भूकम्पका कारण प्यूठानका २५ वटा विद्यालयमा पठनपाठन गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
जिल्ला शिक्षा कार्यालय, विद्यालय स्रोत केन्द्र र जिल्ला दैवी प्रकोप उद्धार समितिले जिल्लाका सबै स्थानमा स्थलगत अवलोकन पछि तीन विद्यालय पूर्णरुपले ध्वस्त भएको र थप २२ विद्यालय पठनपाठन गर्न नसक्ने अवस्थामा रहेकाले विद्यालयमा पठनपाठन प्रभावित भएको बताएको छ ।
भूकम्पले प्यूठानका २५ विद्यालयमा पठनपाठन गर्न नसक्ने र २६ विद्यालय आंशिक पठनपाठन गर्न मिल्ने गरी क्षति पुर्याएको जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो ।
“विद्यालयमा पठनपाठन बन्द भएको छ । तर बहुकक्षा र खुला चौरमा भने शिक्षकले पढाइरहनुभएको छ ।” शिक्षा अधिकारी भट्टराईले भन्नुभयो । जिल्लामा ठन्डा प्रावि खवाङ, सरस्वती प्रावि अर्खा र अर्खा मावि अर्खाका विद्यालयहरु पूर्णरुपले ध्वस्त भएका छन् ।
त्यस्तै २२ वटा विद्यालयका ७१ वटा कक्षाकोठा पठनपाठन गर्न नसक्ने अवस्थामा पुगेको शिक्षा कार्यालयले जनाएको छ । भूकम्पले जिल्लाका थप २६ विद्यालयका १२६ कक्षाकोठामा सामान्य क्षति पुर्याएको शिक्षा अधिकारी भट्टराईले बताउनुभयो ।
विद्यालयमा पठनपाठन गर्न नसक्ने अवस्था भएपछि जिल्लाभरमा १४ हजार ६५९ विद्यार्थी पठनपाठन गर्नबाट प्रभावित भएको छ ।
एउटै कक्षामा दुईवटा कक्षाका विद्यार्थी समावेश गर्ने तथा खुल्ला चौरमा राखेर भए पनि अध्ययन गराउने गरिएको छ । भूकम्पका कारण ओखरकोट विद्यालय स्रोत केन्द्रको भवन पनि क्षतिग्रस्थ भएको छ । स्रोतकेन्द्र भवन प्रयोग गर्न नसक्ने अवस्थामा पुगेको स्रोतकेन्द्रले जनाएको छ ।
यसैबीच भूकम्पका कारण प्यूठानका क्षतिग्रस्थ भएका २५ वटा विद्यालय स्थानीय समुदायकै पहलमा निर्माण सुरु भएको छ । पूर्णरुपले क्षतिग्रस्थ भएका प्यूठानका तीन विद्यालयमा जिल्ला शिक्षा कार्यालय तथा जिल्ला विकास समितिले निर्माणमा सहयोग गर्ने र बाँकी विद्यालयका स्थानीय समुदायकै पहलमा पुनःनिर्माण कार्य सुरु भएको शिक्षा कार्यालयले जनाएको छ ।
भूकम्पले क्षति पुर्याएका विद्यालयमा स्थानीय सामुदायिक वनले निःशुल्क काठ उपलब्ध गराउने, जिल्ला विकास समितिले जस्ता तथा निर्माण सामग्रीमा सहयोग गर्ने र जिल्ला शिक्षा कार्यालयले निर्माण समन्वय गर्ने गरी विद्यालयको निर्माण कार्य सुरु गरिएको जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो ।
भूकम्पले जिल्लाका विद्यालयमा ठूलो क्षति पुर्याएको भन्दै जिल्ला विकास समितिका योजना तथा प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले भत्किएका विद्यालयको पुनःनिर्माणका लागि जिल्ला विकास समितिले सक्दो सहयोग गर्ने बताउनुभयो ।
प्रतिक्रिया