भूकम्पपछि संसदमा भागाभाग

इनेप्लिज २०७२ वैशाख २९ गते १४:५९ मा प्रकाशित

काठमाडौँ, २९ वैशाख । व्यवस्थापिका¬–संसद्को आजको बैठक भैँचालोको झट्कासँगै भोलिसम्मका लागि स्थगन भएको छ ।

यही वैशाख १२ गतेको भूकम्पबाट भएको जनधनको क्षति र सर्वसाधारणलाई राहत बाँड्न र पुनःनिर्माणमा जुट्न सरकारले प्रस्तुत गरेको सङ्कल्प प्रस्तावमा छलफल भइरहँदा एकपछि अर्को भूकम्पको धक्का महसुस भएपछि सदनको कारबाही स्थगन भएको हो ।

भैचालोसँगै बैठक कक्षबाट सांसद्हरू अत्तालिँदै बाहिर निस्कनुभएको थियो । त्यसबेला सभाको अध्यक्षता प्रतीक्षा तिवारीले गरिरहनुभएको थियो भने सांसद विष्णु पौडेल विपत्तिको सामना साहसका साथ गर्नुपर्ने बताउँदै हुनुहुन्थ्यो ।

आजको कार्यसूचीमा राष्ट्रिय विपद् व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समिति गठनसम्बन्धी छलफलमा सभामुखलगायत अन्य दलका नेताहरु सहभागी हुनुहुन्थ्यो ।

आजैको बैठकले उक्त प्रस्ताव पारित गर्ने कार्यसूची निर्धारण भएको थियो । प्रस्तावमाथिको छलफलमा आफ्ना अभिमत राख्न ६६ जना सांसदले नाम लेखाउनुभएको थियो ।

बैठक भोलि अपराह्न १ बजेसम्मका लागि स्थगन भएको जानकारी महासचिव मनोहरप्रसाद भट्टराईले राससलाई दिनुभयो ।

प्रतिक्रिया