भक्तपुरमा सयभन्दा बढी घरमा क्षति, करिब दुई सय घाइते

इनेप्लिज २०७२ वैशाख २९ गते १४:५६ मा प्रकाशित

मध्यपुरथिमि, २९ वैशाख । आज दिउँसो आएको भूकम्पका परी मध्यपुरथिमि क्षेत्रका घरमा व्यापक क्षति भएको छ ।

मध्यपुरथिमि–७ बाहाखा बजारका जीव चित्रकार तथा भाइ चित्रकारको घर भत्किंँदा काठमाडौँ–भक्तपुर सडकसमेत अवरुद्ध भएको छ । आज अपराह्न १२ बजेर ५० मिनेट जाँदा सिन्धुपाल्चोक र दोलखाको सिमानालाई केन्द्रबिन्दु बनाएर ६.८ रिक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पका कारण मध्यपुर थिमि–८ गार्चा टोलका सुरकाजी चक्रधर र कृष्णलाल चक्रधरको घर पूरै भत्किएको छ । त्यस्तै मध्यपुर थिमि–५ नगदेश महाखेलका रामबहादुर बाडेलगायत धेरैको घर भत्किएको छ । यसैगरी मध्यपुर थिमि–१३ का हरिकृष्ण श्रेष्ठ, राधाकृष्ण महर्जनलगायतको घरसमेत भत्केको छ ।

यसैबीच भक्तपुर जिल्लामा १०० भन्दा बढी घर भत्किएको र १९८ जना घाइते भएको प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक यादव ढकालले जानकारी दिनुभयो । घाइतेको भक्तपुर अस्पताल, नेपाल कोरिया मैत्री अस्पताललगायत विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

क्षतिको विस्तृत विवरण अझै पूर्ण रुपमा आइनसकेको प्रहरी निरीक्षक ढकालले जानकारी दिनुभयो । विशेष गरी यही वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण क्षति भएका घर आजको भूकम्पले पूरै भत्किएको छ ।

काभ्रेमा एक सय बढी घाइते
काभ्रेपलान्चोकमा भूकम्पका कारण १०५ जना घाइते भएका छन् । घाइतेको धुलिखेलस्थित धुलिखेल अस्पताल र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रजिअ सुदर्शन ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार यस क्षेत्रमा भएको क्षतिको विस्तृत विवरण अझै आइसकेको छैन । रासस

प्रतिक्रिया