विद्यार्थीद्वारा तीनकोठे भवन निर्माण

इनेप्लिज २०७२ वैशाख २८ गते ४:१३ मा प्रकाशित

ilam_nepal_mapइलाम, २८ वैशाख । विनाशकारी भूकम्पका कारण विद्यालय भवनमा क्षति पुगेर पठनपाठन अवरुद्ध भएपछि अनेरास्ववियुले इलामको चमैता–४ स्थित कञ्चनजङ्घा प्राविमा अस्थायी टहरा निर्माण गरिदिएका छन् ।

सदरमुकामबाट करिब ३५ किलोमिटर उत्तरमा रहेको उक्त प्राविको भवन निर्माण कार्यमा अनेरास्ववियु जिल्ला कमिटीका सदस्य जुटेर बनाइदिएका हुन् ।

विद्यालयका तीन भवनमध्ये दुई भूकम्पले भत्किएपछि पठनपाठन हुन सकेको थिएन । सदरमुकामबाट छ बन्डल जस्तापाता लिएर गएको १५ जनाको टोलीले तीनकोठे अस्थायी भवन निर्माण गरेको हो ।

तीन दिन भित्रमा ३५ फुट लम्बाइ र १५ फिट चौडाइको तीनकोठे भवन तयार गरेर विद्यालयमा आइतबारदेखि पठनपाठन सञ्चालन भएको अनेरास्ववियुका जिल्ला अध्यक्ष रवीन्द्र सुवेदीले बताउनुभयो । यो विद्यालयमा ४७ विद्यार्थी अध्ययनरत छन् ।

विनाशकारी भूकम्पका कारण इलामका ५० विद्यालयमा क्षति पुगेको छ । भूकम्पले विद्यालयमा रु एक करोडबराबरको क्षति पु¥याएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

सिन्धुपाल्चोकका पीडितलाई साढे तीन लाखको राहत सहयोग

यसैगरी राष्ट्रिय वन पैदावार व्यवसायी महासङ्घ, केन्द्रीय कार्यसमिति इलामले सिन्धुपाल्चोकका भूकम्पपीडितलाई आइतबार राहत सामग्री प्रदान गरेको छ ।

महासङ्घले रु तीन लाख ५१ हजार बराबरको राहत सामग्री खरिद गरी पीडितलाई वितरण गरेको हो ।

महासङ्घका कार्यसमितिका पदाधिकारीले उक्त रकमबाट दाल, चामल, चिनी, तेल, नुनलगायत राहत सामग्री खरिद गरी पीडितलाई वितरण गरेको अध्यक्ष सोनामछिरिङ काजीले बताउनुभयो ।

प्रतिक्रिया