बाबियाचौर (म्याग्दी), २८ वैशाख । असिनाले खेतीबालीमा ठूलो मात्रामा क्षति पुर्याएपछि म्याग्दीका किसान निराश भएका छन् ।
गत हप्ता र वैशाख पहिलो साताको असिनाले म्याग्दीको धेरैजसो ठाउँमा लगाइएको हिउँदे, बर्खे, तरकारी र फलफूल बालीमा क्षति पुर्याएको छ । ताकम, ज्यामरुककोट, शिख, घार, देविस्थान, बिम, निस्कोट, कुहूँ, अर्मन, बाबियाचौर, सिङ्गालगायत ठाउँमा असिनाले भित्र्याउन लागेको गहुँबाली, मकै, आलु र तरकारीमा क्षति पुगेको हो ।
असिनाले पाकेको गहुँ बारीमै झारिदिने, मकै र तरकारीको पात तथा डाँठ थिच्नुका साथै सुन्तलाको बटिला झारेको ताकम–७ हिलापोखरीका किसान समबहादुर थापाले बताउनुभयो । “असिनाले गहुँको फल र सुन्तलाको बटिला ८० प्रतिशत क्षति गरेको छ”–थापाले भन्नुभयो–“मकै, बर्खे तरकारीका बिरुवा पनि असिनाले थिचेर नष्ट भएकाले बीउ पनि नपाउने चिन्ताले सताएको छ ।”
प्रतिकूल मौसम र असिनापानीका कारण यस वर्ष म्याग्दीको अधिकांश किसान प्रभावित बनेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत बसन्तकुमार श्रेष्ठले बताउनुभयो । “कार्यालय र सेवा केन्द्रमार्फत असिनाले पुर्याएको क्षतिको विवरण सङ्कलन गरिरहेका छौँ”–श्रेष्ठले भन्नुभयो–“माथिल्लो निकायमा असिनापीडित किसानको राहतका लागि पहल थालेका छौँ ।”
प्रतिक्रिया