भूकम्पका कारण उपत्यकामा एकसय अठ्ठाइस सवारी क्षति

इनेप्लिज २०७२ वैशाख २७ गते १३:०३ मा प्रकाशित

maharajgunj-earthquake-5काठमाडौँ, २७ वैशाख । काठमाडौँ उपत्यकामा वैशाख १२ गते गएको विनाशकारी भूकम्पले १२८ सवारीसाधनमा क्षति पुर्‍याएको छ ।

उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक पोषराज पोखरेलले भूकम्पले अधिकांश मोटरसाइकलमा क्षति पुर्‍याएको बताउनुभयो ।

क्षति सवारीसाधनमध्ये काठमाडौँमा ८९ मोटरसाइकल, २४ कार/जीप, तीन बस/ट्रक, भक्तपुरमा एक मोटरसाइकल र ललितपुरमा तीन मोटरसाइकल, आठवटा कार/जीप रहेका छन् ।

क्षति पुगेको अधिकांश सवारीसाधन रोकिएको अवस्थामा भवन, पर्खाल र अन्य संरचना भत्किएर क्षति पुर्‍याएको पोखरेलले जानकारी दिनुभयो ।

यसैबीच, भूकम्पको त्रासपछि उपत्यकाबाट अन्य जिल्लामा बाहिरिनेको सङ्ख्यामा भने कमी आएको छ ।

महानगरीय ट्राफिक महाशाखा रामशाहपथले दिएको तथ्याङ्कअनुसार भूकम्प गएको तेस्रो दिनमा एक लाख ५३ हजार ८१२ मानिस बाहिरिएका थिए भने गत शनिबार ६५ हजार ५२९ बाहिरिएको बताएको छ । यो तथ्याङ्क भूकम्पको तेस्रो दिनको तुलनामा आधा कम हो ।

उपत्यकाको स्थिति सामान्य बन्दै गएकाले उपत्यकाबाट बाहिरिने सङ्ख्याभन्दा भित्रिनेको सङ्ख्या बढी हुँदै गएको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया