सिम्रौनगढ घटनाबारेको समितिको म्याद पन्ध्र दिन थप

इनेप्लिज २०७२ वैशाख २७ गते १:२६ मा प्रकाशित

काठमाडौँ, २७ वैशाख । व्यवस्थापिका–संसद्ले सिम्रौनगढ घटना छानबिन संसदीय समितिलाई १५ दिनको म्याद थप गरेको छ ।

संसद्को शनिबारको बैठकमा समितिका तर्फबाट म्याद थपका लागि प्रस्ताव प्रस्तुत गरिएको थियो । व्यवस्थापिका–संसद्ले सिम्रौनगढमा गत वर्ष असोज २५ गते भएको घटनाको छानबिनका लागि कात्तिक ३ गते संसदीय विशेष समिति गठन गरेको थियो ।

सो समितिको संयोजकमा अतहर कमाल मुसलमान हुनुहुन्छ । समितिका हालसम्म १९ बैठक बसिसकेका छन् । उक्त घटनामा शाह महमद हवारी र प्रचण्ड जयसवाल गम्भीर घाइते हुनुभएको थियो ।मुलुकमा आएको भूकम्पका कारण उद्धारमा जुट्नुपर्ने भएकाले प्रतिवेदन पेस गर्न अनुकूल अवस्था नरहेको जनाउँदै समितिले म्याद आग्रह गरेकामा बैठकले त्यसलाई सहमति जनाएको हो ।

प्रतिक्रिया