भूकम्पले खोटाङका करिब दुई हजार घर पूर्णरुपमा ध्वस्त

इनेप्लिज २०७२ वैशाख २६ गते १:५७ मा प्रकाशित

10da6e4732a547f0575bcc278d778bd4_Lखोटाङ, २६ वैशाख । वैशाख १२ गतेको विनाशकारी भूकम्पले खोटाङका दुई हजारभन्दा बढी घर पूर्णरुपमा ध्वस्त भएका छन् ।

जिल्ला दैवीप्रकोप उद्धार समितिको तथ्याङ्कअनुसार हालसम्म दुई हजार ११० घर पूर्णरुपमा ध्वस्त भएको पाइएको छ ।

यो संख्या अझै बढ्न सक्ने समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “भौगोलिक दृष्टिले विकट गाउँबाट क्षतिको विवरण हालसम्म आउन सकेको छैन, यसमा जिल्ला तहको राहत वितरण गर्न र क्षतिको विवरण सङ्कलन गर्न सबै संयन्त्र परिचालन गरिएको छ ।”

विनाशकारी भूकम्पले घर ध्वस्त भएपछि जिल्लाका १२ हजार ५३७ जना विस्थापित भएका छन् भने जिल्लाका चार हजार ९८६ घर चर्किएर बस्न नहुने अवस्थामा छन् ।

अठार वटा सरकारी कार्यालय पूर्णरुपमा ध्वस्त भएका छन् भने ५५ वटा चर्किएर कार्य सञ्चालन गर्नसक्ने अवस्थामा नरहेको ती कार्यालयका प्रमुखहरुले बताएका छन् । हालसम्मको जानकारीअनुसार एउटा मन्दिर पूर्णरुपमा ध्वस्त भएको छ भने एउटामा आंशिक क्षति पुगेको छ ।

भूकम्पबाट विस्थापितका लागि जिल्लाबाट १३ समूह बनाएर राहत वितरण टोली परिचालन गरिएको र अति क्षतिग्रस्त ठाउँमा नेपाली सेना र सशस्त्र प्रहरीको क्याम्प नै खडा गरिएको छ ।

विस्थापितका लागि हालसम्म केन्द्रबाट रु ६० लाख राहत रकम आएको छ । पाल, गुन्द्री, कम्बललगायतका सामग्री पर्याप्त नहुँदा वितरण टोलीलाई असहज भएको प्रजिअ सापकोटाले बताउनुभयो ।

यसैबीच जिल्लाबाट पर्याप्त मात्रामा राहत सामग्री नपुग्दा कतिपय परिवार खुला आकाशमुनि बस्न बाध्य रहेको स्थानीयको भनाइ छ । भूकम्पले घर तथा घरमा भएका सम्पूर्ण सामग्री ध्वस्त भए पनि हालसम्म कोही आएर क्षतिको विवरणसमेत लिने काम नगरेको महेश्वरी–८ का नन्दीकेशर वनले दुखेसो गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालयमा बिहीबार अबेरसम्म बसेको सर्वदलीय/सर्वपक्षीयले भूकम्पले ठूलो क्षति पुर्‍याएको खोटाङ जिल्लालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर तत्काल राहतको व्यवस्था गरिदिन सरकारसमक्ष माग गरेको छ ।

प्रतिक्रिया