रत्ननगर (चितवन), २६ वैशाख । चितवनमा भएको सौराहा खाना महोत्सवबाट छुट्याइएको केही प्रतिशत रकम बालश्रम न्यूनीकरणका लागि जिल्ला बालकल्याण समितिलाई शुक्रबार हस्तान्तरण गरिएको छ ।
बाँकी बचत रकम भने उज्यालो सौराहा कार्यक्रमअन्तर्गत सोलारबत्ती र वातावरण संरक्षणमा खर्च गरिने कार्यक्रम संयोजक शिरलाल परियारले बताउनुभयो ।
उक्त खाना महोत्सवमा रु एक लाख २० हजार बचत भएको उहाँले बताउनुभयो । सौराहा फुड फेस्टिबलका संयोजक शिरलाल परियार र पूर्व संयोजक राजन भट्टले प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकेलाई शुक्रबार एक कार्यक्रमका बीच रु ३० हजार १०० हस्तान्तरण गर्नुभयो ।
प्रणय दिवसको अवसरमा फागुन १ देखि ४ गतेसम्म रेस्टुरा एन्ड बार एसोसिएसन रेवानको आयोजनामा फुड फेस्टिबल गरिएको थियो ।
उक्त खाना महोत्सवको अवधिमा सौराहा क्षेत्रमा रु चार करोडको कारोबार भएको र महोत्सवभित्र मात्रै रु दुई करोडको कारोबार भएको जानकारी आयोजक पुरुषोत्तम श्रेष्ठले दिनुभयो ।
प्रतिक्रिया