रिबन काट्दाकाट्दै भत्कियो ६५ लाखको पक्की विद्यालय भवन

इनेप्लिज २०७२ वैशाख २२ गते ११:१० मा प्रकाशित

ribbon-cutचरिकोट, २२ वैशाख । सन् २००३ मा अन्नपूर्ण क्षेत्रमा हिमपहिरो गयो । सोही हिमपहिरो जाँदा लक्जेमवर्गका नागरिक जर्जले लगेका गौरीशङ्कर–३ का दुई व्यक्ति भरिया लाक्पा शेर्पा र कुक गुणा शेर्पाले ज्यानको बाजी राखेर उनलाई बचाएका थिए । हिम पहिरोमा बचाएका कारण भरिया र कुकलाई जर्जले के चाहन्छौँ भनेर सोध्दा गाउँमा विद्यालय भवनको आवश्यकता छ भने । त्यसैको फलस्वरुप पछि जर्जले उपहारको रुपमा सिमिगाउँमा विद्यालय भवन निर्माण गर्न लगाएका थिए । विदेशी नागरिक जर्जले आफ्नो कुक गुणालाई भगवान्का रुपमा मान्दा रहेछन् ।

विदेशी दातासहित गाउँमा पक्की विद्यालय भवनको उद्घाटन हुने खुसियालीमा पूरै गाउँ उद्घाटन समारोहमा ओइरिएको थियो । विद्यालय भवन उद्घाटन गर्न लक्जेमवर्गका दाता जर्ज, क्षेत्र नं १ का सभासद् पार्वत गुरुङ, जिविसका सामाजिक विकास अधिकृत नारायण सेढाईं र सहायक जिल्ला शिक्षा अधिकारी माधवप्रसाद शर्मा संयुक्त रिबन काट्नै लाग्दा आयो विनाशकारी भूकम्प ।

‘दाता जर्जसहित अतिथिकै आँखा अगाडि ढल्यो रु ६५ लाखको नवनिर्मित भवन’ दोलखाको उत्तरी गौरीशङ्कर–३, सिमिगाउँका आङदोर्जे शेर्पाले भन्नुभयो । रिबन काट्ने अतिथि विवादका बीच चार जनाले संयुक्त रिबन काटी उद्घाटन गर्ने सहमतिमा पुग्न ढिला हुँदा विदेशी दाताले बनाई दिएको भवन उद्घाटन हुन नपाउँदै भत्कियो अर्का स्थानीय कोछिरी शेर्पाले बताउनुभयो ।

“विद्यालयको भौतिक संरचना थपिँदा खुसी थियौँ । भवनकै कारण झन्डै मरेनौँ” सहायक जिशिअ माधवप्रसाद शर्माले अनुभव भन्नुभयो । “अब त अन्य भौतिक संरचना पनि ध्वस्त भयो कसरी पठनपाठन सञ्चालन गर्ने भन्ने ठूलो चिन्ता छ ।” उहाँले दुखेसो पोख्नुभयो ।

दोलखा सिन्धु कन्स्ट्रक्सनका गोकर्ण जोशी, लाक्पा शेर्पा र मेघराज शाहीले निर्माण गरेको सिमिगाउँ प्राविको नवनिर्मित छ कोठे पक्की भवन उद्घाटन कार्यक्रममा लक्जेमवर्गका २५ अन्य पर्यटक पनि उपस्थित भएका थिए । जर्जले भने भरिया र कुकको सपना अधुुरो रहेकोमा दुखेसो गरे । जर्ज भन्छन् भरिया र कुकले काठमाडौँमा घर माग्लान् भनेको गाउँमा विद्यालय मागे ।

एक सय ३१ घरधुरी रहेको गौरीशङ्कर–२, ३, ४ का ४२ विद्यार्थीका लागि बनेको भवन निर्माणको नेतृत्व म्याकफड नेपाल भन्ने गैरसरकारी संस्थाले गरेको थियो । म्याकफड नेपालका प्रतिनिधि वसन्त पण्डितले भन्नुभयो, “हेर्दा राम्रो भवन थियो, आँखै अगाडि भत्कियो ।”

प्रतिक्रिया