तैंले तर्साउँदैमा
हामी कहाँ तर्सिन्छौँ र
तैंले मुन्ट्याउन खोज्दैमा
हामी कहाँ मुन्टीन्छौ र
तैंले पुर्न खोज्दैमा
हामी कहाँ पुरिन्छौँ र
हो, तैंले लुकेर आक्रमण गर्दा
लडेका मात्रै हौ हामी
तर ढलेका छैनौं हामी
शालिक जस्तै भएर
हामी उठ्छौं फेरि
ती खण्डहरहरुबाट
पन्छाऊँदै इँटा ढुंगाहरु
हिंडछौं फेरि
टकटकाऊँदै धुलाहरु
हामीलाई पर्खिरहेको छ
नगरकोटमा
बिहानीको सूर्य
भन्छ
हेर म पनि त
हरेक साँझ
अस्ताऊँछु स्वयम्भु पछाडि डाँडामा
तर प्रत्येक बिहान फेरि
आऊँछु नगरकोटमा
हामीलाई पर्खिरहेको छ
आकाशमा चन्द्रमा
बनेर पूर्णिमा
भन्छ
म पनि त औंशी बन्द्छु
तर फेरि
संभालिदै, संगालिदै पूर्णिमा बन्दछु
रात पर्दैमा
सूर्य कहाँ हराऊँछ र
औंशी पर्दैमा
चन्द्रमा कहाँ हराऊँछ र
फेरि उदाईहाल्छन
अनन्त आकाशमा
केहि बिपत्ती पर्दैमा
चन्द्र-सूर्य बसेको हाम्रो झन्डा
कहाँ हराउँछ र
हाम्रो विशाल, सुन्दर नेपाल
कहाँ हरेश खान्छ र
हामी उभिन्छौ फेरि
आज झन बलिया भएका छौ
सबै दिदि-बैनी, दाजु-भाइहरु
एक ढिक्का भएका छौं
चिनिसकेकाछौं
हामीलाई मेटाउन खोज्ने
ती षड्यन्त्रकारीहरु
हामीलाई ढलाउन खोज्ने
ती प्रलयकारी तत्वहरु
तिनीहरुलाई हामी
एउटै भएर लखेटनेछौं
हामी फेरि उठ्छौं
बोक्छौं फेरि हाम्रो
चन्द्र-सूर्य भएको झन्डा
बढ्छौं एउटा समृद्ध, सुखी राष्ट्र भएर
फेरि शान्तिदूत भएर
अनन्त विश्व पद-यात्रामा
(बुद्ध-पूर्णिमा २०७२)
प्रतिक्रिया