भूकम्पका कारण विद्यालयमा एक करोडभन्दा बढीको क्षति

इनेप्लिज २०७२ वैशाख २२ गते ४:०३ मा प्रकाशित

school2इलाम, २२ वैशाख । भूकम्पले इलामका झन्डै चार दर्जन विद्यालयमा क्षति पु¥याएपछि विद्यार्थीको पठनपाठनमा असर परेको छ ।

एक साताअघि गएको विनाशकारी भूकम्पबाट विद्यालयमा क्षति पुग्दा पठनपाठन गर्न समस्या भएको हो ।

भूकम्पका कारण क्षतिग्रस्त विद्यालयको अनुगमन गरेर जिशिकामा ५० विद्यालयको विवरण पेस गरिएको छ । “विद्यालय क्षतिग्रस्त भएर पाल नै टाँग्नुपर्ने स्थिति चाहिँ छैन तर एकपटक प्राविधिकसहितको टोलीले अनुगमन नगरी त्यो विद्यालयमा अध्यापन गराइहाल्ने स्थिति छैन”–जिल्ला शिक्षा अधिकारी टङ्कप्रसाद गौतमले भन्नुभयो ।

प्रत्येक विद्यालयमा रु दुई÷तीन लाखका दरले क्षति पु¥याएको बताइएको छ । “भूकम्पका कारण मात्रै विद्यालयमा रु एक करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ”–जिशिअ गौतमले भन्नुभयो–“क्षति भए जति सबै रकम त शिक्षा विभागले दिन सक्दैन, विद्यालयले पनि आफ्नो आन्तरिक स्रोतबाट मर्मतसम्भार गर्नुपर्छ । केही दैवी प्रकोपमार्फत पनि आउने सम्भावना छ ।”

भूकम्पले विद्यालय क्षतिग्रस्त हुँदा जिल्लामा जितपुर उच्चमावि, त्रिभुवन निमावि, आमचोकको छाँयादेवी मावि, कालिका प्रावि, सल्लेरी प्रावि, मल्लिकादेवी प्रावि, महमाईको भगवती मावि, सिद्धिविनायक प्रावि, सदरमुकामको आदर्श उच्चमावि, इरौटारको बहुवन मावि, उमा महेश्वर मावि, चमैताको कञ्चनजङ्घा प्रावि, दाक्चिला प्रावि, प्याङको प्याङ मावि, नामसालिङको सूर्योदय प्रावि, सिद्धिथुम्काको आदर्श सिद्धि निमावि, साङरूम्बाको जनता निमावि, गोर्खेको हिमालयन उच्चमावि, धुसेनिको रूद्र निमावि, सुलुबुङको बाल निकेतन प्रावि, कोल्बुङको शङ्खर निमावि, एकतप्पाको जनकल्याण मावि, श्रीअन्तुको जनक उच्च मावि, दानाबारीको शिशुसेवा निमावि, इभाङको सिंहदेवी प्रावि र गजुरमुखीको महेन्द्रोदय उच्चमाविलगायतका विद्यालयमा क्षति पुगेका छन् ।

विद्यालयको स्थलगत अनुगमनका लागि जिशिकाले कार्यालयका प्राविधिकलाई परिचालन गरेको छ । भूकम्पले भत्किएका र क्षतिग्रस्त बनेका केही विद्यालयमा अस्थायी टहरा निर्माण र कम क्षति भएका विद्यालयमा दुई–तीनवटा कक्षालाई एकै ठाउँ राखेर भए पनि विद्यार्थीको पठनपाठन सञ्चालन राख्न जिशिकाले सबै विद्यालयलाई निर्देशन दिएको छ । निरन्तरको भूकम्पको कम्पनले थोरै चर्किएका विद्यालय थप चर्किन थालेका छन् ।

भूकम्पले चमैता–५ मा रहेको कञ्चनजङ्घा प्राविका तीन भवनमध्ये दुईवटा बस्नै नसक्ने गरी भत्किएको र एउटा सामान्य चर्किएको प्रअ भक्तबहादुर पौडेलले बताउनुभयो । विद्यालय खोल्ने बेला भयो, पढाउने ठाउँ पनि छैन । “राहतको नाममा एउटा त्रिपालसमेत पाइएको छैन”–प्रअ पौडेलले भन्नुभयो–“पालसम्म भए पनि विद्यार्थीलाई अस्थायी टहरा बनाएर पढाउन सकिने थियो ।”

क्षतिग्रस्त भवनलाई भत्काएर पुनः निर्माण गर्नसमेत जिशिकाका प्राविधिकले अनुगमन गरेपछि मात्र पाइने भएकाले विद्यालयलाई थप समस्या भएको हो । विनाशकारी भूकम्पपछि जिल्ला दैवी प्रकोप उद्वार समितिको बैठकले एक साताका लागि जिल्लाका सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । आइतबारदेखि विद्यालय सञ्चालन भए पनि निर्बाध रुपमा पठनपाठन भने हुन सकेका छन् ।

प्रतिक्रिया