पशुपति आर्यघाटमा अहिलेसम्म ६५० को दाहसंस्कार

इनेप्लिज २०७२ वैशाख २१ गते १२:२३ मा प्रकाशित

Nepal Earthquakeकाठमाडौँ, २१ वैशाख । यही वैशाख १२ गते गएको भूकम्पमा परी निधन भएकामध्ये हालसम्म पशुपति आर्यघाटमा ६५० जनाको दाहसंस्कार गरिएको छ ।

दैनिक १५ देखि २० वटा शव जलाइँदै आएको आर्यघाटमा भूकम्पको पहिलो दिन साँझ मात्रै ५० वटा शव जलाइएको आर्यघाटमा दाहसंस्कारको काम गर्दै आएका यज्ञप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

विगत २२ वर्षदेखि आर्यघाटमा शव जलाउँदै आएका काठमाडौँको मूलपानी घर भएका अधिकारीका अनुसार आर्यघाटमा सबैभन्दा बढी शव जलाइएको इतिहासमै यो पहिलो पटक हो ।

“दिनमा दुईवटासम्म शव जलाएको थिए तर वैशाख १२ गते भूकम्पमा परी मृत्यु हुनेहरूको शव जलाउँदा कतिजनासम्म जलाइयो भन्ने यकिन नै भएन । यति धेरै शव जलाएको पहिलो पटक हो । पुराना पाकाहरूसँग बुझ्दा पनि इतिहासकै बढी शव अहिले आर्यघाटमा जले,”–उहाँले भन्नुभयो ।

विगत १४ वर्षदेखि शव जलाउने काम गर्दै आउनुभएका पुष्पराज पौडेलको अनुभव पनि अधिकारीको जस्तै रह्यो ।

भूकम्प गएको १२ देखि १५ गतेसम्म शव जलाउन आर्यघाटमा भ्याइनभ्याई भएको उहाँले बताउनुभयो ।
पौडेलका अनुसार तीनदिनसम्म शव चित्ता नपुगेर बगरभरी नयाँ चित्ता बनाएर रातभर शव जलाएको थियो ।

पशुपति आर्यघाटमा सामान्यतया दैनिक २५ वटासम्म शव जलाउने गरिएको छ । मृतकको सङ्ख्या बढी भएकाले पशुपतिको किरियाघरमा किरियापुत्री बस्ने ठाँउ पनि अभाव भएको छ । करिब ५० जनाको क्षमता भएको उक्त घर अहिले खचाखच छ ।

पशुपति आर्यघाटमा २७ जना शव जलाउने कार्यमा खटिने गरेको आर्यघाट व्यवस्थापन समितिले जनाएको छ । आर्यघाटमा जम्मा ११ वटा शव जलाउने चिता छन् तीमध्ये एक विशिष्ठ व्यक्तिहरूको मात्र शव जलाइन्छ ।

प्रतिक्रिया