काठमाडौँ, २१ वैशाख । नेपाल रेडक्रस सोसाइटीले विनाशकारी भूकम्पबाट घरबारविहीन भएकाहरुका लागि राहत तथा पुनः स्थापनामा सहयोग गर्न अन्तर्राष्ट्रिय रेडक्रसका अभियन्तासँग आह्वान गरेको छ ।
राहत तथा पुनःस्थापना गर्न सोसाइटीले करिव रु तीन अर्ब ६९ करोड लाग्ने प्रारम्भिक अनुमानसमेत लगाएको छ । “हामीले अन्तर्राष्ट्रिय रेडक्रसको महासङ्घमार्फत सो सहयोगका लागि आह्वान गरेका छौँ”–सोसोइटीका अध्यक्ष सञ्जीव थापाले भन्नुभयो ।
विनाशकारी भूकम्पबाट घरबारविहीन भएकाहरुका लागि वितरण गर्न एक लाख त्रिपाल, पाल÷टेन्ट मगाएको ती सामग्री एक–दुई दिनभित्र नेपाल आइपुग्ने र आउनसाथ जिल्ला शाखामार्फत वितरण हुने सोसाइटीले जनाएको छ ।
अध्यक्ष थापाले अहिले भूकम्पबाट प्रभावित भएकाहरुका लागि खोजी उद्धारका साथ बस्नका लागि अस्थायी पाल नै रहेको छ, यसमा प्राथमिकता दिएका छौँ भन्नुभयो । “हामीसँग पूर्वतयारी अवस्थामा रहेका २० हजार पाल जिल्ला शाखामार्फत वितरण गरिसक्यौँ, पछि अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त पाललगायत अन्य राहतका सामग्री सहयोग वितरण कार्य जारी छ”–उहाँले भन्नुभयो ।
हालसम्म सोसाइटीले करिब २२ हजार त्रिपाल, पाल÷टेन्ट वितरण गरेको छ । भूकम्पबाट पु¥याएको क्षतिका बारेमा सोसाइटीले तथ्याङ्क सङ्कलन कार्य सुरु गरेको छ ।
अध्यक्ष थापाले भूकम्पबाट बढी प्रभावित काठमाडौँ उपत्यकाका तीन जिल्लालगायत नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, धादिङ, रामेछाप, दोलखा, लम्जुङ र रसुवा गरी १२ वटा जिल्लामा राष्ट्रिय विपद् प्रतिकार्य टोली थप परिचालन गरिएको जानकारी दिनुभयो ।
ती जिल्लामा खोज उद्धारका लागि पाँच हजारभन्दा बढी रेडक्रसका विभिन्न स्वयम्सेवक तथा कर्मचारी परिचालित छन् । खोज उद्धारका कामका साथमा प्राथमिक उपचार, राहत वितरण तथा अस्थायी बसोबासका लागि पाल वितरणको काम भइरहेको अध्यक्ष थापाले वताउनुभयो ।
ती जिल्लामा खटिएका ६० वटाभन्दा बढी प्राथमिक उपचार टोलीबाट १० हजारभन्दा बढीलाई तत्काल प्राथमिक उपचार सेवा दिइसकेको छ । हालसम्म पाँच हजारभन्दा बढी परिवारलाई गैरखाद्य सामग्री सेट नौ हजार ७०० कम्बल वितरण सोसाइटीले गरिसकेको छ । अहिले सोसाइटीमार्फत विश्वका ५० भन्दा बढी देशका २५० ले रेडक्रसका अभियन्ताले भूकम्प प्रभावितलाई खोज, उद्धार तथा राहत वितरणमा सहयोग गरिरहेका छन् ।
सोसाइटीले प्रभावित जिल्लामा सरसफाइ गतिविधि तीव्र पारेको जनाएको छ । स्वास्थ्य शिक्षासहित साबुनपानीले हात धुने, पानी शुद्धीकरण ट्याबलेट, जीवनजल वितरण र अस्थायी शौचालयको निर्माण गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
शव व्यवस्थापनका लागि ५०० बाकस अस्पतालमा पठाएको, मनोसामाजिक सहयोग गतिविधि तथा जेलमा पारिवारिक सम्पर्क पुनः स्थापनाको सन्देश सङ्कलन गरिएको छ उहाँले जानकारी दिनुभयो ।
मानवीय सहायतास्वरुप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम पनि जारी नै रहेको र नेपाल रेडक्रसमार्फत सहयोग गर्न चाहनुहुने सबै महानुभावका लागि स्ट्यान्डर्ड चार्टर्स बैंकको खाता नम्बर १७–०००२०८९–३३ मार्फत सहयोग गर्न सकिने व्यवस्था मिलाइएको छ । पर्याप्त रगत भण्डारण रहेको पनि सोसाइटीले जनाएको छ ।
प्रतिक्रिया