दस दिनपछि दुई घाइतेको उद्धार

इनेप्लिज २०७२ वैशाख २१ गते ४:१२ मा प्रकाशित

गोरखाबजार, २१ वैशाख । गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट घाइते भएका उत्तरी भेगका दुईजनालाई उद्धार गरिएको छ ।

सदरमुकामबाट गएको माउन्टेन एयरको हेलिकोप्टरले सिर्दिवास गाविसका ६० वर्षीय पेम्बा छेवाङ र छेकम्पार गाविसकी २३ वर्षीया तेनजिङ डोल्मालाई आज उद्धार गरेर उपचारार्थ जिल्ला अस्पताल गोरखा ल्याएको छ । छेवाङ भारी बोक्ने काम गर्छन् । उहाँको परिवारका सदस्यहरु छैनन् ।

त्यस्तै डोल्मा छेकम्पारस्थित राजेन गुम्बाकी आनी हुन् । भूकम्प आएपछि अत्तालिएकी डोल्मा लडेर घाइते हुनुभएको थियो । “भूकम्प गएको पाँचौँ दिनपछि धेरै आनीलाई पीडा थपियो’ छेकम्पारका युवा हवाङ सान्दो लामाले भन्नुभयो, ‘दिनहुँजसो छेकम्पारमा हेलिकोप्टर उड्छ । एउटै हेलिकोप्टर रोकिएन ।’ हेलिकोप्टरको पर्खाइमा बस्नुपर्दा झन् रोगले च्याप्दै गएको थियो ।
आज खाद्यान्न लिएर माउन्टेन एयरको हेलिकोप्टर छेकम्पार अवतरण भएपछि आनीलाई सदरमुकाम झारिएको हो । उहाँलाई कृत्रिम अक्सिजन दिइएको छ । दुर्गम भेगका भूकम्प पीडितहरुलाई राज्यले समयमै उद्धार गर्न नसकेकोमा दुर्गमबासीहरु गुनासो गर्छन् । ‘हेलिकोप्टर आकाशमा उड्छ । भुइँमा अवतरण नै हुँदैन’ उहाँले भन्नुभयो, ‘गाउँमा अस्पताल छैन । आकाशतिर हेर्दै घाइते कुर्दै बस्यौं ।’ भूकम्पले राजेन गुम्वाको भौतिक संरचना आंशिक मात्रामा भत्केको छ ।

प्रतिक्रिया