दुई बलात्कारीलाई कैद फैसला

इनेप्लिज २०७२ वैशाख २१ गते ४:०२ मा प्रकाशित

rape4इलाम, २१ वैशाख । ५७ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका नामसालिङ–२ का ३८ वर्षीय सुकवीर भनिने साजन तामाङलाई जिल्ला अदालत इलामले आइतबार पाँच वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले मुलुकी ऐन जबर्जस्तीकरणी महलअन्तर्गत कसुर ठहर गर्दै सोही महलको ३ (५) नम्बरबमोजिम तामाङविरुद्ध पाँच वर्ष कैद र २० हजार रूपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका स्रेस्तेदार जगदीश भट्टराईले जानकारी दिनुभयो । तामाङले गत माघ १५ गते ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

यसैबीच २४ वर्षीया एक महिलालाई बलात्कारको आरोपमा थुनामा रहेका जमुना–४ का ५२ वर्षीय पूर्णबहादुर साँवाविरुद्ध जिल्ला अदालत इलामले दुई वर्ष ६ महिना कैद सजाय सुनाएको छ । मुलुकी ऐन जबर्जस्तीकरणी महलको ५ नम्बरअनुसार कसुर पुष्टि हुँदा सोही महलको ३ (५) नम्बरबमोजिम सजाय सुनाइएको अदालतका स्रेस्तेदार भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया