एम्बुलेन्स चालकबाट सिन्धुपाल्चोक पीडितलाई राहत

इनेप्लिज २०७२ वैशाख २१ गते १:३६ मा प्रकाशित

इटहरी, २१ वैशाख । विनाशकारी भूकम्पमा परेर ध्वस्त भएको दुर्गम क्षेत्र सिन्धुपाल्चोकमा राहत पुग्न नसकेको समाचार आइरहेको अवस्थामा सुनसरीका एम्बुलेन्स चालक राहत बोकेर सिन्धुपाल्चोकतर्फ लागेका छन् ।

एम्बुलेन्स चालक सङ्घ सुनसरीको नेतृत्वमा खाद्यान्न, त्रिपाल तथा औषधिसहित सङ्कलन गरेर सिन्धुपाल्चोकतर्फ लागेका हुन् । राहत विरतरणसँगै उद्धारमा समेत सक्रिय हुने उनीहरुले बताएका छन् । पानी, चाउचाउ, चिउरा, त्रिपाल, म्याटलगायत सात लाख मूल्यभन्दा बढीको राहत सामग्रीसहित उनीहरु सुनसरीबाट त्यसतर्फ लागेका हुन् ।

सातवटा एम्बुलेन्ससहित हिँडेका एम्बुलेन्स चालकले सिन्धुपाल्चोकमा रहेका भूकम्पपीडितलाई राहत पुर्‍याउने तथा त्यहाँ रहेका घाइतेलाई अस्पतालसम्म पु¥याउनेसम्मको सहयोग गर्ने संघका सहसचिव गोविन्द विसुखेंले जानकारी दिनुभयो ।

धरानबाट यसअघि गएको रोयल इस्टर्न इन्फिल्डर्ससँगै युवा दृष्टि मञ्च, धरान फोटोग्राफी, धरान मोडिफिकेसन, राइडर्स एन्ड एमटिबी जोन तथा विधान समाजमा आबद्ध युवा चिकित्सक टोलीले राहत वितरणसँगै उद्धार गरिरहेको छ ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनका चिकित्सको एक टोलीले गोरखाका पीडितको उपचार गरिरहेको छ । प्रतिष्ठानका एसोसिएट प्राध्यापक डा मधुर बस्नेतको नेतृत्वमा शनिबार गोरखा पुगेको चिकित्सकको टोलीले भूकम्पपीडितको उपचार गरिरहेको बस्नेतले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया