सुगम स्थानमा पुगेन राहत सामग्री, झगडाका कारण पुगेको सामान वितरण भएन

इनेप्लिज २०७२ वैशाख २० गते १४:४९ मा प्रकाशित

पूर्णप्रसाद मिश्र

Nepal Earthquakeकाठमाडौँ, २० वैशाख । वैशाख १२ गतेको भूकम्पबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोक जिल्लाको सुगम गाउँका पीडितले राहत सामग्री नपाएको गुनासो गरेका छन् ।

तीनतिरबाट यातायात सुविधा पुगेको निर्वाचन क्षेत्र नं–२ को नवलपुर बजारमा अहिलेसम्म सरकारीस्तरमा राहत सामग्री पुगेको छैन भने गैरसरकारी स्तरबाट आज पुगेको राहत सामग्री बाँड्नेक्रममा स्थानीयवासीबीच झगडा भएपछि गाविस भवनमा ती सामान ताला मारेर राखिएको छ ।

नवलपुरमा सदरमुकाम चौतारा, सिपाघाट र मेलम्चीबाट दैनिक यातायातका साधन सञ्चालन हुँदै आएका छन् । “सुगम गाउँमा राहत सामग्री पुग्न सकेको छैन भने पाँच दिन हिँडेर जानुपर्ने विकट गाउँको अवस्था कस्तो होला ? ”– एक जना भूकम्पपीडित प्रश्न गर्छन् ।

सुरक्षाकर्मी परिचालन हुन नसक्दा गाउँमा ल्याइएका सामान बाँड्न नसकिएको स्थानीयवासीको गुनासो छ । “सहयोग पाइने आशमा दिनभर गाविस भवन कुरेर बसियो, विवादका कारण राहत होइन आहत भइयोे, रित्तो हात कसरी घर फर्कने?”– नवलपुर –४, टाकुरेका मङ्लबहादुर तामाङले दुःखेसो गर्दै भन्नुभयो ।

सिक्किमबाट ल्याइएको राहत सामग्री बल्ल आज गाउँमा पुगेको थियो तर वितरणमा विवाद भएपछि पीडितको मन छिया–छिया भयो नवलपुर गाविसमै रहेको इलाका प्रहरी कार्यालय समस्या समाधानमा नजुट्दा । महाविपत्तिको नवौ दिनमा पनि सहायता नपाउँदा जिल्लावासी आक्रोशित भएका छन् ।

केही राजनीतिक दलका कार्यकर्ताले सदरमुकाम पुगेर पहुँचका आधारमा राहत सामग्री ल्याई आफू नजिकका मानिसलाई बाँड्दा पहुँच नहुनेले खुला आकाशमुनि भोक भोकै बस्नुपरेको नवलपुर–९ का नेत्र तामाङले बताउनुभयो ।

दैनिक यातायात सञ्चालन हुने जलबिरे, ठोकर्पा, मुढे, तौथली, पिपलडाँडा, कुञ्चोक, स्याउले, तिपेनी, थाङ्पालधाप, भोटेचौर, थकनी, तालामाराङ, ग्यालथुम, दुवाचौर, फटकशिला, बाँसबारी, सिन्धुकोट र पाल्चोकलगायत स्थानमा आजसम्म राहत सामग्री पुग्न नसकेको नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष युवराज पुरीले बताउनुभयो ।

दुई नगरपालिका, तीन निर्वाचन क्षेत्र, १३ वटा इलाका र ६८ वटा गाविस रहेको सिन्धुपाल्चोक भौगोलिक विकटता र क्षेत्रफलका दृष्टिले मध्यमाञ्चल विकास क्षेत्रको सबैभन्दा ठूलो जिल्ला हो । २०६८ सालको जनगणनाअनुसार जिल्लामा ६६ हजार घरधुरी छन् । तीमध्ये ९८ प्रतिशत घर बस्न नहुने गरी ध्वस्त भएका राहत एवम् उद्धारको संयोजन गर्न सिन्धुपाल्चोक पुग्नुभएका स्थानीय विकास मन्त्रालयका सहसचिव वसन्त गौतमले राससलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया