रेडक्रसको सहयोग जारी

इनेप्लिज २०७२ वैशाख २० गते ७:०३ मा प्रकाशित

icrcकाठमाडौँ, २० वैशाख । नेपाल रेडक्रस सोसाइटीले गत शनिबार आएको विनाशकारी भूकम्पको उद्धार तथा राहतका लागि काठमाडौँ उपत्यकाका तीन जिल्लासहित नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, धादिङ, रामेछाप, दोलखा, लमजुङ र रसुवा गरी १२ वटा जिल्लामा राष्ट्रिय विपद् प्रतिकार्य टोलीहरु थप परिचालन गरेको छ ।

ती प्रभावित जिल्लाका सहर तथा गाउँमा उद्धार तथा राहतका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय तथा स्थानीय गरी पाँच हजारभन्दा बढी रेडक्रसका विभिन्न स्वयम्सेवक तथा कर्मचारीहरु परिचालित भएको सोसाइटीले जनाएको छ ।

सोसाइटीले ५० भन्दा बढी प्राथमिक उपचार टोलीबाट पाँच हजार बढीलाई तत्काल प्राथमिक उपचार सेवा, २० हजार त्रिपाल, दुई हजारभन्दा बढी परिवारलाई गैरखाद्य सामग्री सेट र छ हजार ७०० कम्बल वितरण भइसकेको र ती सामग्री वितरण कार्य जारी रहेको जानकारी दिएको छ ।

भूकम्प प्रभावित जिल्लामा अस्थायी क्याम्पमा सरसफाइ गतिविधि सञ्चालन भइरहेको, स्वास्थ्य शिक्षासहित पानी शुद्धिकरण ट्यावलेट, जीवनजल वितरण र अस्थायी शौचालयको निर्माण गरिएको पनि सोसाइटीका सञ्चार प्रमुख दिव्य पौडेलले जानकारी दिनुभयो ।

शव व्यवस्थापनका लागि ३२५ वटा बाकस अस्पतालमा पठाइएको, मनोसामाजिक सहयोग गतिविधि तथा जेलमा पारिवारिक सम्पर्क पुनःस्थापनाको सन्देश सङ्कलन गरिएको उहाँले बताउनु भयो । त्यस्तै एक लाख १६ हजार मास्क, ४२ हजार प्याकेट जीवनजल, १५ हजार साबुन वितरण गरिएको बताइएको छ ।

उपत्यका बाहिरका जिल्ला शाखालाई राहत सामग्री पठाउने क्रमजारी नै रहेको पर्याप्त रगत भण्डारण रहेको सोसाइटीले जनाएको छ ।

प्रतिक्रिया