‘नन्दहरि पत्रकारिता पुरस्कार’ शर्मा, घायल र गौतमलाई

इनेप्लिज २०७२ वैशाख १९ गते २:४१ मा प्रकाशित

बागलुङ, १९ वैशाख । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाद्वारा स्थापित ‘नन्दहरि सिर्जनशील पत्रकारिता पुरस्कार’बाट धवलागिरीका तीन पत्रकार पुरस्कृत हुने भएका छन् ।

प्रत्येक वर्ष प्रदान गरिने पुरस्कार विविध कारणले रोकिएपछि अघिल्ला दुईसहित २०७१ सालको पुरस्कार एकसाथ प्रदान गर्न लागिएको हो ।

शाखाका पूर्व अध्यक्ष हरिनारायण गौतम र उहाँको परिवारले आमा हरिकला र बुवा नन्दलाल गौतमको सम्झनामा २०६६ सालमा स्थापना गर्नुभएको पुरस्कार २०६९ को लागि पर्वतका दुर्गाप्रसाद शर्मा, २०७० सालको पुरस्कार पर्वतमै कार्यरत ओमप्रसाद घायल र २०७१ सालको पुरस्कार बागलुङका ज्ञानेन्द्र गौतमलाई प्रदान गरिने जनाइएको छ ।

धवलागिरीलाई कार्यक्षेत्र बनाएका पत्रकारमध्येबाट ज्येष्ठता, क्रियाशिलता र निरन्तरतालाई प्राथमिकता दिई पुरस्कार दिन लागिएको पुरस्कार छनोट समितिका संयोजक राजेशचन्द्र राजभण्डारीले जानकारी दिनुभयो ।

पुरस्कृत हुन लाग्नुभएका पर्वतका पत्रकार दुर्गाप्रसाद शर्मा पत्रकार महासङ्घ पर्वत शाखाका अध्यक्ष हुनुहुन्छ । त्यस्तै पर्वतमै क्रियाशील पत्रकार ओमप्रसाद घायल रेडियो शालिग्रामका स्टेसन म्यानेजर र पत्रकार ज्ञानेन्द्र गौतम बागलुङ एफएममा कार्यरत हुनुहुन्छ ।

पुरस्कारको राशि जनही रु १५ हजार रहेको छ ।

प्रतिक्रिया