चामलको साटो चिनी राहत

इनेप्लिज २०७२ वैशाख १८ गते १०:३६ मा प्रकाशित

vbk-sugar_260868fचरीकोट (दोलखा), १८ वैशाख । चामलभन्दा चिनी धेरै ढुवानी गरिएपछि रामेछापमा भूकम्पपीडितलाई राहत बाँड्न कठिनाइ भएको छ ।

भूकम्पपीडितका लागि काठमाडौँबाट ९ दशमलव ३ क्विन्टल चामल ढुवानी गरिएको छ भने चिनी ११ क्विन्टल भित्रिएको छ । बिनायोजना राहत जिल्ला भित्रिएपछि तनाव उत्पन्न भएको छ । “न्यून मात्रामा राहत सामग्री आएकाले बाँड्न सकिएको छैन” एक कर्मचारीले भने । चिनीभन्दा पनि चामलको माग बढी भए पनि जिल्लामा ढुवानी हुन नसक्दा राहत बाँड्न नसकिएको ती कर्मचारीले बताए ।

रामेछापमा भूकम्पबाट प्रभावित घरधुरी ४० हजार बढी रहेको छ । भूकम्पबाट २५ जनाको मृत्यु भएको थियो भने २४ जना घाइते भएका थिए ।
प्रजिअ शम्भुप्रसाद मरासिनीले राहतस्वरुप न्यून मात्रामा खाद्यान्न ढुवानी भएको बताउनुभयो । “राहत आउने क्रम जारी रहेको छ”, उहाँले भन्नुभयो । दुई नगरपालिका र ४५ गाविसका लागि सात हजार त्रिपाल उपलब्ध भएको मरासिनीले बताउनुभयो ।

स्थानीय प्रशासनले प्रत्येक गाविसलाई एक सय थान त्रिपाल उपलब्ध गराएको छ । मन्थली नगरपालिकाका पीडितका लागि एक हजार एक हजार सात त्रिपाल तथा रामेछाप नगरपालिकाका पीडितका लागि आठ सय त्रिपाल सम्बन्धित नगरपालिकालाई हस्तान्तरण गरिएको प्रजिअ मरासिनीले जानकारी दिनुभयो । भूकम्पबाट घाइते २४मध्ये १३ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ भने बाँकी सबै आआफ्नो घर फर्किसकेका छन् ।

प्रतिक्रिया