भूकम्पको धक्का क्रमशः कम हुँदै

इनेप्लिज २०७२ वैशाख १८ गते २:१५ मा प्रकाशित

82596664_nepal_earth_quake_v2_624काठमाडौँ, १८ वैशाख । आज बिहान १२ बजेर ५८ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प र २ बजेर ५६ मिनेट जाँदा काठमाडौँ केन्द्र भएर गरी दुईवटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

योसँगै हालसम्म चार रेक्टरभन्दा माथिको ११४ वटा भूकम्पको धक्का महसुस गरिएको छ । त्यसअघि बिहीबार चार रेक्टर स्केलभन्दा माथिका चारवटा भूकम्प गएको थियो ।

अघिल्लो दिनको तुलनामा भूकम्पका धक्का क्रमशः कम हुँदै गइरहेको छ । चार दिनअघि चार रेक्टरमाथिका दैनिक दर्जनभन्दा बढी भूकम्प गए पनि बुधबार छवटा मात्र गएको थियो । गत मङ्गलबार १३ वटा भूकम्प गएको थियो ।

ठूलो भूकम्प आएको हुनाले सानातिना कम्पन आइरहने भएकाले यसबाट आत्तिन नपर्ने भूकम्पविद्हरूले बताएका छन् । “चार रेक्टर स्केलको भूकम्पले आउँदा आत्तिनुपर्ने अवस्था छैन, ठूला भूकम्पपछि साना कम्पनहरू आउनु स्वभाविक प्रक्रिया हो”–भूकम्पविद् डिल्लीराम तिवारीले भन्नुभयो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले भूकम्पको कम्पन क्रमशः कम हुँदै गएको र चार रेक्टरभन्दा मुनिका भूकम्पले कुनै असर नगर्ने भएकाले डराउनुपर्ने अवस्था नरहेको बताउनुभयो ।

उहाँका अनुसार भूकम्पको दूरी तुलनात्मकरुपमा कम हुँदै गएको छ । एक हप्तासम्म दिनमा दुई÷चारवटा जान सक्छ । बुधबार छवटाबाट बिहीबार चारमा झरेको छ । छ रेक्टरमुनिका भूकम्पले खासै असर पनि गर्दैन ।

प्रतिक्रिया