काठमाडौँमा खाद्यान्न, ग्यास र पानीको अभाव हुन नदिने: निजी क्षेत्र

इनेप्लिज २०७२ वैशाख १७ गते १३:०५ मा प्रकाशित

create_thumb.phpकाठमाडौँ, १७ वैशाख । विनासकारी भूकम्पका कारण भएको विपत्तिमा काठमाडौँवासीलाई खाद्यान्न, ग्यास र पानीको अभाव हुन नदिने निजी क्षेत्रले जनाएको छ ।

मिडिया इन्टरनेसनलले आज यहाँ आयोजना गरेको ‘निजी क्षेत्रबाट राहत की ठगी’ विषयक कार्यक्रममा विपत्तिको यो अवस्थामा कसैले पनि कमाउने उद्देश्य राख्न नहुने भन्दै काठमाडौँवासीलाई राहत दिनेतर्फ निजी क्षेत्र लागेको बताएको हो ।

नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्रा बज्राचार्यले आपत्को घडीमा सबैले सानो रकमको लोभमा ठगी गर्ने व्यापारीमाथि कारबाही गरेकोे बताउँदै आफूहरुले पसल सूचारु गर्नका लागि अभियानै चलाएको जानकारी दिनुभयो ।

काठमाडौँमा खाद्यान्न प्रशस्त रहेको बताउँदै उहाँले कैयौँ दिन सामान नआए पनि काठमाडौँमा समस्या हुँदैन भन्नुभयो । गोदाममा सामान प्रशस्त रहेकाले साना किराना पसलमा सामान सकिए पनि नआत्तिन उहाँले आग्रह गर्नुभयो ।

ग्यास विक्रेता महासङ्घका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्यालले काठमाडौँमा ग्यास प्रशस्त मात्रामा रहेको बताउँदै देश कठिन मोडमा रहेका बेला सबै ग्यास विक्रेतालाई सर्वसुलभ ढङ्गले ग्यास उपलब्ध गराउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो– “राहत र सहयोग गर्ने समयमा कोही ठगी गरेर कमाउनतिर लाग्छ भने त्यस्ता व्यक्तिलाई कारबाही गर्नुपर्छ ।” नेपालको निजी क्षेत्रले अप्ठ्यारो अवस्थामा सहयोग गरिरहेकाले केही खराब व्यक्तिका कारण सिङ्गो निजी क्षेत्रमाथि दोषारोपण नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेल) का अध्यक्ष सुरेश बस्नेतले केयुकेलले वितरण गरेको पानी पिउनयोग्य भएको भन्दै पिउनयोग्य नहुने पानी वितरणमा आफूहरुले रोक लगाएको जानकारी दिनुभयो । पानीका कारण विभिन्न रोग लाग्नसक्ने भन्दै उहाँले पिउने पानी र अन्य प्रयोग गर्ने पानीमा सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया