भ्रमणमा गएको टोली छदिनदेखि बेखबर

इनेप्लिज २०७२ वैशाख १७ गते १:२२ मा प्रकाशित

कावासोती, १७ वैशाख । खासा भ्रमणमा निस्केको आमा समूहको टोली महाभूकम्पका कारण सम्पर्क हुन नसक्दा उनीहरुका आफन्त बेखबर रहेका छन् ।

उनीहरु अहिले सिन्धुपाल्चोकको चौकी डाँडामा अलपत्र अवस्था रहेको बताइए पनि उनीहरुको बारेमा थप जानकारी आउन सकेको छैन ।

नवलपरासी र कास्कीबाट खासा घुम्न गएका ३६ जनाको टोलीसहित त्यहाँ करिब एक हजार जना रहेको अनुमान गरिएको छ ।

उनीहरुको उद्धारका लागि सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीसँग कुरा भएपनि हालसम्म सम्भव हुन नसकेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी हरिराज मैनालीले जानकारी दिनुभयो ।

“अझैसम्म कसैसँग सम्पर्क भएको छैन, चौकी डाँडामा छन् भन्ने आधारमा खोजी भइरहेको छ उनीहरु आउने आशामा छु”– स्थानीय ऋषि लम्सालले भन्नुभयो ।

प्रतिक्रिया