गोँगबुमा भूकम्प भएको ८० घन्टापछि जीवितै एक युवाको उद्धार

इनेप्लिज २०७२ वैशाख १६ गते ९:४५ मा प्रकाशित

bhukampa-300x187काठमाडौँ, १६ वैशाख । विनाशकारी भूकम्प गएको करिब ८० घण्टापछि काठमाडौं गोङ्गबुको नयाँ बसपार्कको दुई नम्बर गेट नजिक मित्रनगर भन्ने ठाउँमा रहेको सयपत्री गेष्ट हाउसबाट एक युवालाई जीवितै उद्धार गरिएको छ ।

सशस्त्र प्रहरी बलको सर्च एण्ड रेस्क्यु टोलीले मङ्गलबार राति करिब १०ः१५ बजे एक युवाको जीवितै उद्धार गरी उपचारार्थ त्रिवि शिक्षण अस्पतालमा पठाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छत्कुलीले जानकारी दिनुभयो ।

त्यस्तै, सशस्त्र प्रहरी बलको सर्च एण्ड रेस्क्युको अर्को टोलीले काठमाडौँ कालधाराबाट आज १२ वर्षीया निकिता श्रेष्ठको शव निकालेको छ भने गोङ्गबु गणेश मन्दिर इलाकाबाट आजै तीनवटा शव भत्किएको संरचनाबाट निकालिएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छत्कुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, ठमेलस्थित होटल बजेटबाट दुई जनाको शव निकालिएको छ । सशस्त्र प्रहरी बलले राहत सामग्री वितरण गर्ने कार्यमा समेत एपिएफ टोली परिचालन गरेको छ ।

मध्यक्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय रुद्र बाहिनी पथलैयाका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक रामशरण पौडेल आजै राहत सामग्रीसहित सो सामग्री वितरण गर्ने टोलीसँग सिन्धुपाल्चोक जिल्ला गएको छ । टोलीले विस्कुट, औषधि, ड्राइफुडलगायतका राहत सामग्री लिएर गएको छ ।

सशस्त्र प्रहरी बलले रोटरी क्लबलगायतका निकायसँग मिलेर उद्धार सामग्री वितरण गर्ने कार्यमा सहभागिता जनाइरहेको छ ।

साथै, एपिएफ टोलीले भक्तपुरको इनार टोलमा सर्च एण्ड रेस्क्यु गर्ने क्रममा ११९ तोला सुन फेला पारेर सम्बन्धित घरधनीलाई बुझाएको छ ।

आजै, सशस्त्र प्रहरी बलको सर्च एण्ड रेस्क्यु टोलीले काठमाडाँैं माछापोखरीबाट करिब १६ वर्षीय एक पुरुषको शव फेला पारेको छ भने सितापाइलास्थित चर्चबाट अर्को सर्च एण्ड रेस्क्यु टोलीले दिउँसो करिब २ः४५ बजे एकजना करिब ६ वर्षीया बालिका तथा अन्य तीनजना पुरुषको शव फेला पारेको छ ।

यसैगरी, काठमाडौँ बसुन्धारा इलाकाबाट एपिएफको सर्च एन्ड रेस्क्यु टोली तथा फ्रान्सको डग स्नेफिङ एन्ड रेस्क्यु टोलीले तीनवटा शव निकालेको छ ।

देशका विभिन्न भागमा भएको क्षतिपछि सशस्त्र प्रहरी बलका विभिन्न टोली सक्रियताका साथ उद्धार कार्यमा जुटिरहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया