सामुहिक रुपमा सबै एकजुट बनेर उद्धार र राहतका लागि जुटौं‏

इनेप्लिज २०७२ वैशाख १२ गते २०:३४ मा प्रकाशित
DSC00579
अप्रिल २५,२०१५ |
मातृभूमि नेपालमा आज गएको विनाशकारी भूकम्पका कारण भएको अकल्पनीय जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दछौं | यो महा विपत्तीको प्रकोपमा परी ज्यान गुमाउनु भएकाहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं | दिवंगत सबैका परिवारजनप्रति हार्दिक समवेदना एवं सहानुभूति व्यक्त गर्दै सम्बन्धित सबैमा शोकको यो घडी धैर्यधारण गर्न सक्ने सामर्थ्य प्राप्त होओस् भन्ने कामना गर्दछौं |  यस विनाशकारी प्राकृतिक विपत्तिमा परी घाइते हुनु भएका सबैको यथोचित शीघ्र उपचारको प्रवन्ध गर्न सरकार,गैर सरकारी संघ,संस्था र अन्य सरोकारवाला पक्षसंग आग्रह गर्दछौं |
अकल्पनीय विपत्तिको क्षण हामी प्रवासमा रहेका आम नेपालीहरुको मन द्रवीभूत भएको छ | ऐतिहासिक धरोहर र धार्मिक एवं पुरातन सम्पदासहित   जनधनको यो क्षति हाम्रा लागि अपुरणीय छ | मुलुक शोक र आपतमा डुबेको बेला हामी सबै सामुहिक रुपमा राहत तथा उद्धारका लागि सहयोग जुटाउन अमेरिकाभरका नेपाली समुदाय र नेपालका हितैषीहरुलाई आग्रह गर्दछौं | साथै यस पुनीत कार्यमा नेजा यथाशक्य सहयोग जुटाउने कार्यमा हर तरहले सहभागी हुने प्रतिवद्धता समेत जाहेर गर्दछ |
नेपाली समुदायका सबै सदस्य, संघसंस्थाका प्रतिनिधिहरु र नेपालका हितैषी मित्रहरुलाई नेजा यस आपतको घडी एकतावद्ध भै सामुहिक आकस्मिक राहत तथा उद्धार कार्यका लागि जुट्न आग्रह गर्दछ | मातृभूमी नेपालमा परेको यो राष्ट्रिय शोकको घडीमा हाम्रो मानवीय धर्म र दायित्व निर्वाह गर्न सबै संघ,संस्था,समुदायले मिलेर एकतावद्ध भै ठोस पहल गर्नुपर्छ भन्ने हाम्रो आग्रह छ | अलग-अलग होइन सामुहिक रुपमा सबै एकजुट बनेर उद्धार र राहतका लागि जुटौं | यो प्राकृतिक विनाशको जनधनको क्षतिपछि आवश्यक राहत,उद्धार र पुनर्स्थापना कार्यमा सहयोग गरिदिन रेडक्रस लगायत अन्य परोपकारी संघ संस्थासहित अन्तरार्ष्ट्रिय समुदायसमक्ष समेत आग्रह गर्दछौं |
सबै जुटौं,मिलेर यो विपतमा सहयोग जुटाऔं |
गौतम दाहाल 
अध्यक्ष, नेपाल अमेरिका पत्रकार संघ
एवम परिवार

प्रतिक्रिया