इलाम पूर्णखोपयुक्त जिल्ला घोषणा

इनेप्लिज २०७२ वैशाख ११ गते १०:४९ मा प्रकाशित

इलाम, ११ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले पूर्णखोपयुक्त जिल्ला घोषणापछि यसलाई पूर्णरुपले कार्यान्वयन गर्न चुनौती रहेको बताउनुभएको छ ।

“पूर्ण खोपयुक्तपछिको अवस्थालाई निरन्तर कायम राख्न चुनौती छ, यसलाई दीर्घकालीन रुपमा टिकाइराख्नु नै अहिलेको आवश्यकता हो”, उहाँले भन्नुभयो ।

‘स्थानीय स्वामित्व र सहभागिता पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आज इलामलाई पूर्णखोपयुक्त जिल्ला घोषणा गर्दै उहाँले भन्नुभयो, “जन्मेदेखि एक वर्षभित्रका सबै बालबालिकालाई खोप सेवा पुगेर खोपबाट कोही पनि वञ्चित हुनु हुँदैन भन्ने सरकारको लक्ष्य हो ।” पूर्णखोप घोषणा भएका जिल्लालाई पनि निरन्तर अनुगमन र मूल्याङ्कन गरिरहनुपर्छ, उहाँको भनाइ छ ।

जाजरकोटमा फैलिरहेको मौसमी रुघाखोकी नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अघि बढिरहेको बताउँदै उहाँले त्यो करिब नियन्त्रणमा आइसकेको जिकिरसमेत गर्नुभयो । सरकारले जाजरकोटमा २७० भन्दा बढी चिकित्सकलाई ३० भन्दा बढी ठाउँमा राखेर स्वास्थ्योपचार पु¥याइरहेको र अहिलेसम्ममा साढे नौ हजार जनाको स्वास्थ्य परीक्षण गरिसकिएको उहाँले बताउनुभयो ।

हुम्ला, जुम्ला, कालीकोट, रुकुम र दैलेखमा पनि मौसमी रुघाखोकी देखापरेको भन्ने जानकारीका आधारमा सरकारले हुम्लामा पनि चिकित्सकसहितको स्वास्थ्य टोली परिचालन गर्न लागेको जानकारी उहाँले दिनुभयो ।

सो अवसरमा जिल्ला स्वास्थ्य प्रमुख राजकुमार पोखरेलले पूर्णखोपयुक्त जिल्ला घोषणाका सम्बन्धमा इलामको वर्तमान अवस्था जानकारी गराउनुभएको थियो । कार्यक्रममा मन्त्री अधिकारीले खोप समन्वय समितिका अध्यक्ष मदन कोइरालालाई मन्त्रालयबाट पूर्णखोप जिल्ला घोषणा भएको प्रमाणपत्र प्रदान गर्नुभयो ।

इलाम जिल्ला पूर्णखोप घोषणा हुनेमा पूर्वाञ्चलमा दोस्रो र समग्र देशमै आठौँ भएको छ । पूर्वाञ्चलमा धनकुटा पहिलो भएको हो ।

जन्मेदेखि २३ महिनासम्मका पाँच हजार ८२५ जना बालबालिकालाई खोप लगाइएको छ । अठासी दशमलव ४१ प्रतिशतले बिसिजी, १०२ प्रतिशतले डिपिटी, १०१.८३ प्रतिशतले दादुरा रुवेला र १०२.४८ प्रतिशत बालबालिकाले पोलियो खोप पाइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया