पशुमा कृत्रिम गर्भाधान गराउने कृषक बढ्दै

इनेप्लिज २०७२ वैशाख १० गते ८:४८ मा प्रकाशित

cow1इनरुवा, १० वैशाख । साँढे र राँगा लोप हुन थालेपछि सुनसरीका कृषक गाईभैँसीलगायतका पशुमा कृत्रिम गर्भाधान गराउन थालेका छन् ।

दूध उत्पादन बढाउन तथा साँढे र राँगाको अभाव भएपछि गाईभैँसीमा कृत्रिम गर्भाधान गराउने कृषकको सङ्ख्या बढ्दै गएको हो । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा पशुसेवा कार्यालयले आफ्नो मातहतको कार्यक्रमअन्तर्गत १३ हजार गाईभैँसीमा कृत्रिम गर्भाधान गराएको छ ।

कार्यालयले स्थानीय गाई एक हजार ७७६ वटा, उन्नत गाई छ हजार ७३४, स्थानीय भैँसी ७०९ र उन्नत भैँसी ७८१ मा कृत्रिम गर्भाधान गराइएको जनाएको छ । चालु आवको आठ महिनाको अवधिमा एआई मिसन कार्यक्रमअन्तर्गत स्थानीय गाई एक हजार २४२, उन्नत गाई ७७७ वटा, स्थानीय भँैसी ४५१ र उन्नत भैँसी १५५ गरी दुई हजार ६२५ गाईभैँसीमा कृत्रिम गर्भाधान गराइएको पशु विकास अधिकृत राजेन्द्रपसाद चौधरीले जानकारी दिनुभयो ।

कृत्रिम गर्भाधानबाट पाडापाडी, बाछाबाछी राम्रो उत्पादन हुने र दूध उत्पादनसमेत बढ्ने भएकाले कृषकको आकर्षण बढेको उहाँको भनाइ छ । गत वर्ष १७ हजार ७८९ पशुमा कृत्रिम गर्भाधान गराएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया