आमाहरुद्वारा मादक पदार्थ र जुवातासमा प्रतिबन्धित

इनेप्लिज २०७२ वैशाख १० गते ८:४० मा प्रकाशित

maadak-padarthaमुगु, १० वैशाख । पढाइलेखाइ र सिर्जनशील काम गरेर समाजमा उदाहरणीय बन्नुपर्ने बेला मादक पदार्थ सेवन(मापसे) गरेर युवाशक्ति कुलतमा फस्दै गएको जनाई यहाँको एक गाउँका आमाहरुले गाउँभरिमा मादक पदार्थ बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाउने अभियान सुरु गरेका छन् ।

सदरमुकाम गमगढीसँगै जोडिएको कार्कीवाडा गाविस वडा नं १, २, ३ र ४ भामवाडा गाउँका पुरुष उत्पादनशील काम छाडेर दैनिकजसो मापसे गर्ने, जुवातास र क्यारोमबोर्ड खेल्ने गरेर बिगिँ्रदै गएको आमाहरुले महसुस गरेका छन् । अभियानकी संयोजक लालकला सेजुवाल भन्नुहुन्छ– “कुरा कुलतमा फसेको मात्र होइन, गाउँमा पुरुष जुवातास, क्यारोमबोर्ड खेल्ने र दिउँसै जाँडरक्सी खाएर नातागोताकै अगाडि समाजलाई पाच्य नहुने शब्द बोलेर समाजिक सद्भाव खलबल्याउने, घरमा गएर श्रीमतीलाई पिट्ने क्रम बढ्दै गएपछि र घरजग्गालगायत काममा क्रमशः ध्यान दिन छाडेपछि यो अभियान चलाउन बाध्य भएका हाँै”, उहाँले थप्नुभयो, “हाम्रो सपना भामवाडा गाउँ मादक पदार्थ, जुवातासरहित गाउँ बनाउने हो, हेराँै कतिको सफल भइन्छ ।”

बुधबार भामवाडा गाउँका सर्वपक्षीय भेलाले महिलाबाट आएको यो अभियानको पक्षमा सहमति जनाएपछि सेजुवालको संयोजकत्वमा २५ सदस्यीय मादक पदार्थ तथा जुवा तास नियन्त्रण समिति गठन गरेको थियो । कार्कीवाडा गाविसका सचिव रेशमबहादुर रावल महिलाबाट आएको सकारात्मक यो अभियानका क्रममा आइपर्ने आर्थिक, सामाजिक तथा कानुन जटिलतामा गाविसले समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनुहुन्छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक श्रीहजुर सिलवाल प्रहरीमा आउने प्रत्येक १०० झगडामा उजुरीमध्ये ९० मापसेकै कारण भएको जानकारी दिनुहुन्छ । प्रहरीले जिल्लामा मापसे तथा जुवातासविरुद्ध जनचेतनामूलक कार्यक्रम तथा सामुदायिक विद्यालयमा मादक पदार्थ सेवनविरुद्ध गत मङ्सिरमा कक्षा सञ्चालन गरेपछि भने यस किसिमका उजुरी घटेका छन् ।

प्रतिक्रिया