म्याग्दीका ५.७ प्रतिशत बालबालिका विद्यालय बाहिर

इनेप्लिज २०७२ वैशाख १० गते ३:३४ मा प्रकाशित

Myagdi_district_locationबेनी (म्याग्दी), १० वैशाख । जिल्लामा विद्यालय उमेरका ५.७ प्रतिशत बालबालिका विद्यालयको पहुँच बाहिर रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

जिल्ला शिक्षा कार्यालयले नयाँ शैक्षिक सत्रको भर्ना अभियानका बारेमा जानकारी गराउन गरेको पत्रकार सम्मेलनमा ९४.३ प्रतिशत बालबालिका सहज विद्यालयको पहुँचमा रहेको निमित्त जिल्ला शिक्षा अधिकारी टेकप्रसाद पाण्डेले बताउनुभयो । “तथ्याङ्कअनुसार नै हामीले अभियान चलाइरहेका छाँै, केही बसाइँसराइ गरेर गएको पनि हुनसक्छन्” पाण्डेले भन्नु्भयो ।

उहाँले विद्यालय उमेरका सबै बालबालिकाको पहुँच पु¥याउने अभियानसमेत प्रभावकारिताका साथ अगाडि बढेको बताउनुभयो ।

कमजोर पारिवारिक अवस्था, भौगोलिक विकटतालगायतका कारणले पनि बालबालिका विद्यालयसम्म पुग्न नसकेको समेत बताइएको छ ।

जिल्लास्थित पेसागत सङ्घसंस्था र पत्रकारको उपस्थिति रहेको कार्यक्रममा सामुदायिक विद्यालयले विभिन्न बहानामा शुल्क लिने, मनखुसी भर्ना अभियान रोक्ने गरेको गुनासोसमेत गरिएको थियो ।

भर्ना अभियानअन्तर्गत वैशाखको दोस्रो सातासम्म अभियान तथा स्वागत, तेस्रो र चौथो साता घरदैलो अभियान, अभिभावक सचेतना कार्यक्रम, विद्यालयमा हुने हिंसा तथा यौन दुव्र्यवहारविरुद्ध सप्ताह, गुनासो पेटीका राख्नेलगायतका योजना रहेको विद्यालय निरीक्षक दल थापाले बताउनुभयो ।

“अभियानको अनुगमनसमेत गरिने छ । यस वर्ष विद्यालय बाहिर रहेका बालबालिकालाई शून्यमा झार्ने लक्ष्य छ” उहाँले भन्नु्भयो । जिल्ला शिक्षा कार्यालय, गाविस, गैरसरकारी कार्यालयलगायत सरोकारवाला निकायले समेत अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया