दुई जलविद्युत् आयोजनाका काम ठप्प

इनेप्लिज २०७२ वैशाख ९ गते ८:५२ मा प्रकाशित

चरीकोट, ९ वैशाख । दोलखाको मार्बु गाविसमा निर्माणाधिन दुई वटा जलविधुत् आयोजनाको काम १६ दिनदेखि ठप्प छ ।

स्थानीयवासीको आन्दोलनका कारण निर्माणको काम ठप्प रहेको हो । सभासद् पार्वत गुरुङको पहलमा ठप्प भएको काम सुचारु गर्न सहमति भए पनि कार्यान्वयन हुन सकेको छैन । सभासद् गुरुङ आयोजना प्रभावित क्षेत्रका बासिन्दा हुन् । ७० मेगावाट क्षमताका खानी खोलाको दुई वटा जलविद्युत् आयोजनाको निर्माणको काममा स्थानीयले अवरोध जारी राखेका छन् ।

निमा शेर्पा नेतृत्वको स्थानीय सङ्घर्ष समितिले आयोजनाको व्यवस्थापन पक्षसँग सहमति नहुञ्जेलसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको छ । “वार्ताको पहल हुन सकेको छैन” उहाँले भन्न्नुभयो ।

स्थानीयवासीले निःशुल्क सेयर, १० प्रतिशत लगानी सेयर, रोजगारीको माग गर्दै आयोजनाको काम ठप्प पार्दै आएका छन् । उनीहरुले सुरीको भोर्लेसम्मको गाडी चल्न दिएका छैनन् ।

गत बिहीबार सरोकार समिति, आयोजनाका प्रवद्र्धक र सभासद्बीच आयोजनाको काम शुक्रबारबाट सुचारु गराउने सहमति भएको थियो । स्थानीयवासीको अवरोधपछि मार्बु गाविस–७ मा निर्माण भइरहेको ४० मेगावाटको खानीखोला–१ जलविद्युत् आयोजना र सोही स्थानमा पर्ने ३० मेगावाटको खानी खोला जलविद्युत् आयोजनाको काम रोकिएको रोकिएै छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले प्रवद्र्धकले बन्द खुलाउन सहयोग नमागेको बताउनुभयो । प्रशासनिक रुपमा समन्वय र सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया