बाबियाचौर (म्याग्दी), ८ वैशाख । म्याग्दीको राम्चे गाविसको नांगी गाउँका महिलाले अवसर पाएमा महिला पनि पुरुषभन्दा कम छैनन् भन्ने उदाहरण प्रस्तुत गरेका छन् ।
राम्चेको १ र २ नम्बर वडाका महिलाले नेतृत्व गरेपछि खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय म्याग्दीमार्फत गत वर्षदेखि सुरु भएको नांगी खानेपानी तथा सरसफाइ योजना निर्माण कार्य पूर्वानुमानभन्दा कम लागत र निर्धारित समयभन्दा छिटो सम्पन्न भएको छ । रु ५८ लाखमा आगामी असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको योजनाबाट उपभोक्ता समितिको सक्रियताका कारण तीन महिनापहिले नै खानेपानी वितरण सुरु भइसकेको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय म्याग्दीका प्रमुख इन्जिनियर शेखरचन्द्र केसीले बताउनुभयो ।
उहाँका अनुसार कार्यालयले ३२ लाख रुपैयाँ सहयोग गरेको योजना निर्माण गर्न उपभोक्ताको २० प्रतिशत सहभागिता रहेको छ । योजनामार्फत नांगी गाउँका २६ वटा घर, सामुदायिक लज र विद्यालयमा व्यक्तिगत धारा जडान गरेर खानेपानी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष राममाया पुनले बताउनुभयो । उपभोक्ता समितिको पदाधिकारीसहितको ११ जनाको कार्यसमितिमा सबै महिला छन् ।
अध्यक्ष पुनका अनुसार गाउँका ८० घरधुरीले पाँच दिन श्रमदान गरेको योजनाका लागि समितिका पदाधिकारी तथा सदस्यहरुले १६० दिनको समय र श्रम उपलब्ध गराएका छन् । योजनाको स्थानीय स्तरमा जनसहभागिता जुटाउनेदेखि जिल्ला स्तरमा समन्वय गर्नेलगायत सबै कामको नेतृत्व महिलाबाटै भएको हो । ग्रामीण क्षेत्र भए पनि घरघरमा व्यक्तिगत धारा जडान भएकाले स्थानीयलाई सुविधा मिलेको छ ।
उपभोक्तालाई सुविधाका साथै योजनालाई व्यवस्थित र संरक्षण गर्न सहज हुने भएकाले व्यक्तिगत धाराको अवधारणा उपयोगमा ल्याइएको हो । ३० वर्षअघिको योजनाको संरचना जीर्ण भएपछि खानेपानी वितरण प्रणाली व्यवस्थित तथा शुद्ध खानेपानी आपूर्ति हुन नसकेको र त्यसको प्रभाव महिलामा बढी देखिएकाले उनीहरुलाई नै नेतृत्व प्रदान गरेर नयाँ योजना बनाइएको स्थानीय हिमाञ्चल उच्च माविका शिक्षक कृष्ण पुर्जाले बताउनुभयो ।
प्रतिक्रिया