काँग्रेस पहिचान विरोधी होइन: सभासद् तामाङ

इनेप्लिज २०७२ वैशाख ७ गते ११:५३ मा प्रकाशित

Dकाठमाडौँ, ७ वैशाख । सभासद् दिलमान तामाङले नेपाली काँग्रेस पहिचान विरोधी नभएको बताउनुभएको छ ।

नेपाल तामाङ घेदुङले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेपाली काँग्रेसले १८ वटा पहिचान जनतासमक्ष प्रस्तुत गरिसकेको बताउँदै तामाङ समुदायको बाहुल्य भएको क्षेत्रमा ती समुदायको पहिचान झल्किनु बहुपहिचानयुक्त प्रदेश हुनुपर्ने धारणा रहेको स्पष्ट पार्नुभयो ।

नेपाली काँग्रेसभित्रका जनजाति सभासद् र अन्य सभासद्बीचको विचारमा खासै विरोधाभास नरहेको उहाँले उल्लेख गर्नुभयो ।

नेपाल तामाङ घेदुङका महासचिव कुमार ब्लोन तामाङले पहिचान विरोधी शक्तिले प्रचार गरेझैं आफूहरू एकल जातीय पहिचानको पक्षमा नरहेको स्पष्ट गर्दै तर तामाङ समुदायको बाहुल्य रहेको क्षेत्रमा उनीहरूको पहिचान हुनुपर्छ भन्ने मान्यता रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल तामाङ घेदुङको आठौँ राष्ट्रिय महाधिवेशन वैशाख १२ देखि चितवनमा हुने जानकारी दिइयो । विश्वमा ५५ लाखको सङ्ख्यामा रहेका तामाङहरू नेपालमा ३० लाखभन्दा बढी रहेको र यो जनसङ्ख्याको दृष्टिले पाँचौ ठूलो जनजाति हो ।

महाधिवेशनमा देशका विभिन्न ५२ जिल्लाका ९९४ प्रतिनिधि र पर्यवेक्षकले भाग लिने बताइएको छ ।

प्रतिक्रिया