बनेपामा चण्डेश्वरी जात्राको तयारी सुरु

इनेप्लिज २०७२ वैशाख ७ गते ४:०७ मा प्रकाशित

chandeswori-jatra-620x330बनेपा, ७ वैशाख । बनेपामा नेवारी समुदायले मनाउने प्रसिद्ध चण्डेश्वरी जात्राको तयारी सुरु भएको छ ।

जात्राका लागि बनेपा नगरपालिकाले रु १२ लाख, मालपोत कार्यालयमार्फत नेपाल सरकारले रु ३३ हजार ५०० र अन्य गरी रु १७ लाख ३३ हजार ५०० खर्च हुने बनेपा नगरपालिकाका सूचना अधिकारी यज्ञबहादुर वैद्यले जानकारी दिनुभयो ।

उहाँले बनेपा नगरपालिकाले छुट्टाएको सो बजेट भीमसेन जात्रा, गाईजात्रा, चण्डेश्वरी माताको नित्य पूजा, जालदेउ जात्रा, मिलापूजा, पाश्चर्य पूजा लगायत संस्कृति संरक्षणमा खर्च हुने बताउनुभयो ।

सूचना अधिकारी वैद्यले जात्रालाई व्यवस्थित गर्न बनेपा नगरपालिका–५ का पूर्ववडाअध्यक्ष शेरबहादुर सुवाललाई द्वारे नियुक्तसमेत गरिएको उल्लेख गर्दै जात्राका लागि द्वारेलाई सहयोग गर्ने सहद्वारे र महाहरुसमेत हुने जानकारी दिनुभयो ।

जात्रामा कम्तीमा १४ वटा बलि पूजासमेत गरिन्छ । बनेपा नगरपालिकाले सो जात्राका लागि सरसफाइदेखि सरकारी निकायसँग सहयोगीको भूमिका निर्वाह गरेको छ ।

यही वैशाख २१ र २२ गते दुई दिनसम्म मनाइने सो जात्राको अघिल्लो दिन उहिलेका राजामहाराजहरुले प्रयोगमा ल्याएका गरगहना र सिक्काको पूजाआजासमेत गरिने छ । संस्कृतिविद् ज्ञानकाजी मान्नधरले दिएको जानकारीअनुसार चण्डेश्वरीदेवी बनेपालीको आराध्यदेवी भएको उल्लेख गर्दै चण्डेश्वरीदेवीले दैत्यराज चण्डाशुरको बध गरेको खुसियालीमा चण्डेश्वरी जात्रा हुने गरेको छ । वैशाख पूर्णिमा र त्यसको भोलिपल्ट यो जात्रा हुने गरेको छ ।

वंशावलीअनुसार सत्ययुगदेखि जात्रा हुने गरेको उल्लेख गर्दै उहाँले चण्डासुर दैत्यको बध भएपछि देवलोकमा देवी चण्डेश्वरीको बाजागाजासहित जात्रा गरिएकाले सो जात्राको परम्परा सुरु भएको जानकारी दिनुभयो । मानन्धरले नेपाल संवत्को सुरुवातदेखि नै नेपालमा जात्राको सुरुवात भएको जानकारी दिँदै स्थानअनुसार फरकफरक रुपमा काभ्रेमा जात्रा गर्ने प्रचलन रहेको बताउनुभयो ।

उहाँका अनुसार उग्रचण्डीनालामा भगवती महालक्ष्मीको, साँगामा नासिका भगवतीको, चौकोटमा श्वेत गणेशको, श्रीखण्डपुरमा श्वेत भैरबको र पनौतीमा इन्द्रेश्वरको जात्रा बर्सेनि हुने गरेको छ । साहित्यकार तथा काभ्रेपलाञ्चोकका अग्रज पत्रकार मोहन दुवालले चण्डेश्वरी लिच्छवीकालीन मन्दिर भएको उल्लेख गर्दै काठमाडौँको नरदेवी र बूढानीलकण्ठमा समेत चण्डेशवरीको जात्रा हुने जानकारी दिनुभयो । नेवारी समुदायले जात्रा सम्पन्न गरेपछि आफन्तजनलाई आमन्त्रण गरेर भोज खुवाउने चलन रहेको छ ।

प्रतिक्रिया