गौरबाट उच्चस्तरीय छानबिन टोली फर्कियो

इनेप्लिज २०७२ वैशाख ६ गते १४:४८ मा प्रकाशित

गरुडा (रौतहट), ६ वैशाख । मालपोत कार्यालय र नापी शाखाको चन्द्रपुरमा सेवा बिस्तारको विरुद्ध रौतहटको गौरमा जारी आन्दोलनमा भएका विभिन्न घटनाको छानबिन गर्न आएको उच्चस्तरीय टोली प्रारम्भिक छानबिन गरी फर्किएको छ ।

आन्दोलनमा प्रहरीद्वारा दमन र सशस्त्र बेस क्याम्प लक्ष्मीपुर बेलबिछवामा आक्रमण तथा दशगजा क्षेत्रबाट भएको हवाइ फायरको बारेमा अध्ययन र अनुसन्धान गर्न उच्चस्तरीय टोली आएको थियो । घटनास्थल पुगेर घाइते, उद्योग बाणिज्य सङ्घका पदाधिकारी, व्यापारी तथा होटल सियापैलशमा दलका नेताहरुलाई भेटेर गौर आन्दोलनमा भएको बास्तविकता बारे टोलीले जानकारी लिएको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का जिल्ला अध्यक्ष अजय गुप्ताले बताउनु भएको छ ।

त्यसैगरी, छानबिन टोली विभिन्न व्यक्ति, पत्रकार, नागरिक समाजलाई भेट्दै शनिबार राति ९ बजे गौरबाट फर्किएर आन्दोलनमा प्रहरीको गोली लागी गम्भीर घाइते भई नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेका हजमिनिया गाविसका रणवीर सिंहलाई हेर्दै काठमाडाँै फर्किएको हो ।

गौर आन्दालनमा प्रहरी र आन्दोलनकारी गरी १३९ जना घाइते भएका थिए । दुईपक्षीय झड्पमा १३ जना प्रहरी र १२६ जना आन्दोलनकारी घाइते भएको अस्पताल स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रहरीले चलाएको गोली लागेर ११ जना आन्दोलनकारी घाइते भएका हुन् । घाइतेमध्ये अन्य सबैको अवस्था सामान्य रहे पनि रणवीर सिंहको स्थिति गम्भीर रहेको बताइएको छ ।

गृह मन्त्रालयका सहसचिव सागरमणि पराजुलीको संयोजकत्वमा विशेष टोलीमा नेपाल प्रहरीका डिआइजी हेमन्त पाल, सशस्त्र प्रहरीका डिआइजी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धानका प्रमुख डिआइजी अर्जुनकुमार रहेका थिए ।

गत बिहीबार बिहान ११ बजे सदरमुकाम गौर पुगेको टोलीले स्थानीय पत्रकार, उद्योग वाणिज्य सङ्घ, जिल्ला अस्पतालका डाक्टर तथा आन्दोलनमा घाइते भएकालाई भेटेर वास्तविकताबारे जानकारी लिएको थियो । तर प्रहरी उपरीक्षक सानुबाबु थपलियाले आन्दोलनमा ४० जना प्रहरी घाइते भएको बताउनु भयो । उहाँले उच्चस्तरीय टोलीले छानबिन गरी २१ दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउने बताउनु भयो । टोलीले पहिलो पटक प्रारम्भिक अनुसन्धानमा सबै पक्षलाई भेटेका र आवश्यकता परे पुनः आउने जनाएको छ ।

प्रतिक्रिया