मुक्तिनाथ–नारच्याङ वैकल्पिक पदमार्ग निर्माण

इनेप्लिज २०७२ वैशाख ४ गते ४:३० मा प्रकाशित

मुस्ताङ, ४ वैशाख । सडक सञ्जालका कारण प्रभावित यहाँको पर्यटन क्षेत्रको विकास लागि मुक्तिनाथदेखि म्याग्दीको नारच्याङसम्म वैकल्पिक पदमार्ग निर्माण गरिएको छ ।

जिल्ला विकास समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र स्थानीय पर्यटन व्यवसायीको संयुक्त लगानीमा ७५ किलोमिटर लामो उक्त वैकल्पिक पदमार्ग निर्माण गरिएको हो ।

म्याग्दीको बेनीदेखि मुक्तिनाथसम्म सडक सञ्चालनसँगै विश्व प्रसिद्ध राउन्ड अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने मुस्ताङको पर्यटन क्षेत्र प्रभावित बनेको छ । पदयात्राका लागि आउने पर्यटक सडकमा हुने धुलोका कारण नारच्याङ देखि मुक्तिनाथसम्मका पदयात्रा गर्न छाडेका छन् ।

तीनवटै निकाय मिलेर पाँच वर्षसम्म क्रमागतरुपमा बजेट विनियोजन गरेर कालीगण्डकीको तिरैतिर वैकल्पिक पदमार्ग निर्माण गरिएको एक्याप मुस्ताङका प्रमुखका प्रमुख विदुर कुईँकेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार वैकल्पिक पदमार्ग मुक्तिनाथको रानीपौवा, लुप्रा, जोमसोम, धुम्बाताल, छैरे, टिटीताल हँुदै नारच्याङको पैराथाप्ला निस्कन सकिन्छ ।

वैकल्पिक पदमार्ग निर्माणसँगै मुस्ताङको कालापानी, पैरोथाप्ला, घासा, लेते, मार्फा, कागबेनीलगायतका क्षेत्रका पर्यटन व्यवसायीले ती क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गर्न लागेका छन् ।

दुई महिनाअघि सम्पन्न भएको उक्त पदमार्गका विभिन्न स्थानमा अहिले होटल व्यवसाय विस्तारका लागि अध्ययन र पदचिन्ह निर्माणका काम धमाधम भइरहेको एक्यापले जनाएको छ ।

बेनी–जोमसोम सडक सञ्चालनमा आउनुपूर्व कास्कीको घान्द्रुक र म्याग्दीको घोरेपानी हुँदै मुस्ताङ भित्रिने पर्यटक अत्याधिक हुने भएपनि त्यसपछि भने पदयात्रामा आउने पर्यटक ५० प्रतिशतले घटेको थियो ।

वैकल्पिक पदमार्गले जिल्लामा पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने जिल्ला विकास समिति मुस्ताङका कार्यक्रम अधिकृत केदारसिंह थापाको भनाइ छ ।

प्रतिक्रिया